पुराना राजनीतिज्ञ यज्ञप्रसाद आचार्यको निधन



काठमाडौं असोज ७ । वरिष्ठ राजनीतिज्ञ, साहित्यकार तथा तत्कालीन राजपरिषद् स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ । उनका सुपुत्र सुरेशप्रसाद आचार्यका अनुसार काठमाडौको नर्भिक अस्पतालमा मंगलबार अपरान्ह ५:४५ उनको निधन भएको हो ।

मुटु र मिर्गौला सम्बन्धी समस्याबाट पीडित आचार्यको काठमाडौंको नर्भिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको थियो । केही दिन अगाडि मात्र नर्भिक अस्पतालमा उनलाई पेसमेकर प्रत्यारोपण गरिएको थियो ।

मंगलबार अचानक हृदयघात भएपछि चिकित्सकहरुले उनको उपचार सम्भव नभएको घोषणा गरेका थिए । राजा वीरेन्द्रको शासनकालमा गाउँफर्क राष्ट्रिय अभियान, नेपाल युवक संगठनका केन्द्रीय सभापति र राजपरिषद् स्थायी समितिका सदस्य समेत रहेका आचार्यले कम्युनिष्ट पार्टीको सदस्यताबाट राजनीति सुरु गरेका थिए ।

साहित्यकार तथा लेखक समेत रहेका आचार्यका ‘मुक्तात्मा र फ्युजनको जगमा शिल्यान्यास’ नामक कथा संग्रह र ‘जे देखे जे भोगे’ नामक आत्मकथा भर्खरै प्रकाशित भएको थियो ।

धनकुटामा जन्मेको भए पनि धरानबाट उनले राजनीति सुरु गरेका थिए । धरान नगरपालिकामा तीन पटक नेतृत्वमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्