जेलमा शंकास्पद मृत्यु भएका जैसवालको पोस्टमार्टम गर्ने सरकारको निर्णय



काठमाडौं असोज ७ ।

केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका शनिबार राति शंकास्पद मृत्यु भएपछि आफन्तहरुको विरोधपछि सरकारले उक्त शवको पोस्टमार्टम गर्ने भएको छ।

चर्को विवादपछि गृहले उनको पोस्टमार्टम गर्ने निर्णय गरेको हो। मृतकका आफन्तले हत्या र अङ्ग झिकिएको आरोप लगाउँदै पोस्टमार्टमको माग गरेका थिए। मृतक ६३ वर्षीय रामलखन जैसवालको आँखा झिकिएको र शरिरको विभिन्न भागमा चोट रहेको उनकी छोरी रश्मी जैसवाललगायत आफन्तले दाबी गरेका छन्। मंगलबार बिहान उनीहरुले वीर अस्पतालअघि प्रदर्शन पनि गरेका छन्।

पार्किन्सन र प्रेसरका विरामी जैसवालको गत शनिबार राति अन्दाजी १० बजे निधन भएको थियो। विर अस्पतालका प्रवक्ता विद्यानिधि पौडेलले जैसवाललाई अस्पताल ल्याइपुर्‍याउनुअघि नै उनको मृत्यु भइसकेको र त्यसपछि कोरोना परीक्षण गरिएको बताए।

यता केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले आरोपहरु झुट्टा भएको दावी गरे। उनले जैसवाललाई सास फेर्न समस्या भएपछि शनिबार राति १० बजे वीर अस्पताल लगिएको बताए।

प्रतिक्रिया दिनुहोस्