छट पर्वपछि सबै तहका परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी



काठमाडौं असोज ७ ।

त्रिभुवन विश्वविद्यालयले स्थगित भएका परीक्षा आगामी छट पर्वपछि शुरु गर्ने तयारी गरेको छ ।

त्रिविले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन गरेपछि स्थगित भएका सबै तहका परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

कोरोनाका कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी ददैं अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको त्रिविले जानकारी दिएको छ । त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैं र तिहारको बीचमा गर्नेसक्ने पनि जनाएको छ ।

पनिकाले बुधवार नै सबै डिन कार्यालयलाई परीक्षाको तयारी थाल्नका लागि परिपत्र गर्ने उनले जानकारी दिए । त्रिविले भौतिक दूरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गर्ने छ । पनिकाले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेष्टर परीक्षा लिनेछन् । त्रिविका रजिष्ट्रार प्रा. डा पेशल दाहालले स्थगित भएका सबै परीक्षा सञ्चालन गर्नका लागि तयार गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्