स्याङ्जा र पाल्पामा पहिरो, १ को मृत्यु, ६ जना बेपत्ता, ३ घर पुरिए



काठमाडौं असोज ८ । पाल्पामा अविरल वर्षापछि खसेको पहिरोले तीन वटा घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोमा परेर हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा उनीहरु वेपत्ता भएका हुन् ।

त्यस्तै अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिकोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमानले भने भागेर ज्यान जोगाएका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै ३ दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका बाबुराम दमाइका अन्दाजी १७ वर्षीय छोरा विष्णु परियार रहेको स्थानीयले बताएका छन् । घरमा सुतिरहेको अवस्थामा आज बिहान घर माथिबाट खसेको पहिरोले पुरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

घरमा सुतिरहेका परिवारका अन्य सदस्य भने सकुशल रहेका छन । अहिले प्रहरी, स्थानीय उद्दारकार्यमा जुटिरहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्