कोरोना भाइरसबाट चितवन र डडेल्धुरामा १/१ जनाको मृत्यु



काठमाडौं असोज ८ । कोरोना भाइरस संक्रमणबाट चितवन र डडेल्धुरामा १/१ जनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण तनहुँको आँबुखैरहनी नगरपालिका ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२:५५ बजे मृत्यु भएको हो ।

डायलसिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो ।

यस्तै जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको बुधबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्‍याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए । डडेल्धुरामा कोरोना सङ्क्रमणबाट यो पहिलो मृत्यु हो ।

प्रतिक्रिया दिनुहोस्