जनसंख्याको २ प्रतिशत सुकुम्बासी



काठमाडौ, असोज १० । सुुकुमबासी आयोगले देशभर कुल जनसंख्याको करिब २ प्रतिशत संख्या सुकुमबासी भएको अनुमान निकालेको छ। लकडाउनका बेला आयोगले देशभर ७ सय ५३ वटै स्थानीय तहलाई चिठी लेखेर सम्भावित सुकमबासी, अव्यवस्थित बसोबासी तथा भूमिहीनको विवरण पठाउन आग्रह गरेका थियो।

हालसम्म सुकुमबासी समस्या देखिएका ३ सयभन्दा बढी स्थानीय तहले विवरण पठाएको आयोगले जनाएको छ। उक्त विवरणका आधारमा देशभर २ प्रतिशत जनसंख्या सुकुमबासी रहेको अनुमान आयोगले निकालेको आयोगका प्रवक्ता भीम कार्कीले जनाए। कार्कीका अनुसार देशभर करिब २ लाख ३५ हजार दलित भूमिहीन तथा ३लाख ३५ हजार संख्यामा अन्य सुकुमबासी भएको अनुमान आयोगले निकालेको छ।

यसैगरी, देशभर ७ लाख ६५ हजार संख्यामा सरकारी, ऐलानी तथा सार्वजनिक जग्गा कब्जा गरेर बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी रहेको अनुमान आयोगले निकालेको छ। ‘हाम्रो अनुमानमा कुल जनसंख्याको २ प्रतिशत सुकुमबासी संख्या छ,’ कार्कीले भने, ‘तर यो प्रारम्भिक अनुमान हो। तर छानबिनपछि यो संख्या घट्ने अनुमान गरिएको छ।’ यसअघि भूमि व्यवस्था मन्त्रालयको अनुमान कुल जनसंख्याको १ प्रतिशत सुकमबासी रहेको भन्ने थियो।

भूमि व्यवस्था मन्त्रालयका अनुसार २०१३ सालदेखि हालसम्म सरकारले ४६ हजार ६ सय बिघा जग्गा सुकुमबासीको नाममा वितरण गरेको छ। केन्द्रीय तथ्यांक विभागको पछिल्लो रिपोर्टमा २ प्रतिशत नागरिकसँग घरजग्गा नभएको र ८ प्रतिशत नागरिक भाडामा बस्ने गरेको जनाइएको छ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्