एसइई परीक्षाको शुल्क फिर्ता गर्न अभिभावक महासंघको माग



काठमाडौं असोज १३ ।

नेपाल अभिभावक महासंघले माध्यमिक शिक्षा परीक्षा एसईईका लागि उठाइएको परीक्षा शुल्क फिर्ता गर्नुपर्ने माग राखेको छ।

कोभिड–१९ का कारण आन्तरिक मुल्यांकनबाटै परीक्षा भएपछि महासंघले शुल्क फिर्ता गर्न सरकारसँग माग राखेको हो। अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शुल्क फिर्ता नगरी उल्टै प्रमाणपत्रको शुल्क लिएको भन्दै आपत्ति जनाए।

अहिले अनलाइन शुल्कमा पनि अन्योलता भएको भन्दै सरकारले वैज्ञानिक ढंगबाट शुल्क निर्धारण गर्नुपर्ने उनको माग छ। त्यस्तै महासंघले तत्काल कक्षा १२ को परीक्षा गर्नुपर्ने माग राखेको छ।

यस वर्ष एसईई परीक्षाका लागि ४ लाख ८२ हजार ९ सय ८६ विद्यार्थीले जनही पाँच सय रुपैयाँ तिरेर परीक्षा फर्म भरेका थिए। यस अनुसार राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यार्थीसँग २४ करोड १४ लाख ९३ हजार रुपैयाँ उठाएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्