नुवाकोट पञ्‍चकन्या र शिवपुरीका ११ घर पहिराको उच्च जोखिममा, पीडितले गुहारे सरकार



शिवपुरी-५ महाकाली जेब्राङ (घले बस्ती)मा पहिरो

साझा पथ संवाददाता

नुवाकोट असोज १४ । पञ्‍चकन्या र शिवपुरी गाउँपालिकाका ११ घर पहिराको उच्च जोखिममा परेपछि पीडितले स्थानीय सरकार गुहारेका छन् ।

केही दिनअघिको अविरल वर्षात्‌का कारण पञ्‍चकन्या २ भसभसेमा जमिन भासिएपछि ४ घरगोठ जोखिममा परेका छन् । बासस्थान भत्किन लागेपछि पीडित सष्ठीलाल श्रेष्ठ, रामकुमार श्रेष्ठ, कुमार श्रेष्ठ र दिपेन्द्र श्रेष्ठले स्थानीय सरकार र प्रहरी प्रशासनलाई गुहारेका छन् ।

पीडितहरुले पहिरो नियन्त्रण र सुरक्षित ठाउँमा घर स्थानान्तरण गरी पुनर्निर्माण व्यवस्था गरिदिन असोज १२ गते पञ्‍चकन्या गाउँपालिकालाई अनुरोध गरेका छन् । यस्तै स्थलगत निरीक्षण गरी मुचुल्क तयार गर्न इलाका प्रहरी कार्यालय पञ्‍चकन्यामा समेत निवेदन दिएको पीडित रामकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

यसैबीच अविरल वर्षासँगै जमिन भासिने, पहिरो जाने र जताततै पानीको मुल निस्कन थालेपछि शिवपुरी-५ महाकाली जेब्राङ (घले बस्ती)मा ७ घर जोखिममा परेका छन् । त्यहाँका स्थानीयले पनि गाउँपालिका कार्यालयमा जानकारी गराउँदा तत्कालीन रुपमा राहत उपलब्ध गराएको र हिउँद लागेपछि नियन्त्रणका लागि व्यवस्था गर्ने बताएको जेब्राङ (लि:ल फङ)घले समाज जेब्राङ इकाई अध्यक्ष मुरारी घलेले जानकारी दिए ।

‘हामी ७ घर परिवारको सदस्यहरु स्थानीय सरकारको ढोका ढकढकाउन पुग्दा तत्कालको लागि ७ वटा त्रिपाल पठाको छ र त्यो पालले पहिरोलाई ढाकछोप गरिनु पर्नेरे अनि हिउँदो लागेपछि तारजाली दिने कुरासम्म राम्रै गर्नुभयो गाऊँपालिका अध्यक्षज्युले तर तार जालीले मात्र हामीलाई हुँदैन जाली वाल हाल्नको लागि लाग्ने खर्चचै कल्ले ब्यहोर्ने हो त्यो भने यकिन गरिदिनु भएन यो समस्याको समाधानको लागी हामी प्रदेश र संघ सरकारसँग पनि केही पहल कदमीको आशालादी छौं’ अध्यक्ष घलेले सामाजिक सञ्‍जालमा लेखेका छन् ।

पञ्‍चकन्या २ भसभसेमा जमिन भासिएपछि चर्किएका घर

प्रतिक्रिया दिनुहोस्