नुवाकोट प्रशासनको चेतावनी- ‘सरकारको निर्णयविपरीत विद्यालय सञ्‍चालन गरे कारबाही’



नुवाकोट असोज १४ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले केन्द्रीय सरकारको निर्णयविपरीत सामुदायिक तथा संस्थागत विद्यालयहरु सञ्‍चालन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बुधबार जरुरी सूचना निकालेर सामुदायिक एवं सस्थागत विद्लाय सञ्‍चालन गरी संक्रमण फैलिन गएमा सोको जिम्मेवारी सम्बन्धित विद्यालयमा रहने व्यहोरा जानकारी गराउँदै उल्लेखित काम कारबाही गरे/गराएको पाइएकोमा संक्रामक रोक ऐन २०२० बमोजिम कारबाहीसमेत हुने चेतावनी दिएका हुन् ।

जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा देखिएको र अझै फैलिन सक्ने उच्च जोखिम रहेको समेत बताएको छ । ‘जिल्लाका विभिन्न पालिकाहरुमा अवस्थित कतिपय सामुदायिक तथा संस्थागत विद्यालयहरुले सो निर्देशिकाविपरीत प्रत्यक्ष सिकाई विधि अबलम्बन गरी नेपाल सरकारको मिति २०७७ ५ २९ गतेको निर्णय विपरीतका गतिविधि सञ्‍चालनको प्रयास गर्न खोजेको भन्ने बुझिन आएको हुँदा यस्ता खालका गतिविधिहरु नगर्ने नगराउने व्यवस्था मिलाउनु हुन अनुरोध छ,’ सूचनामा लेखिएको छ, ‘सामुदायिक एवं सस्थागत विद्यालय सञ्‍चालन गरी संक्रमण फैलिन गएमा सोको जिम्मेवारी सम्बन्धित विद्यालयमा रहने व्यहोरा जानकारी गराउँदै उल्लेखित काम कारबाही गरे गराएको पाइएकोमा संक्रामक रोक ऐन २०२० बमोजिम कारबाहीसमेत हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।’

प्रजिअ ढकालले सबै प्रकारका शैक्षिक संस्था र परीक्षा अर्को सूचना जारी नभएसम्म नचलाउने सरकारको २९ भदौको निर्णय रहेको सूचनामार्फत् स्मरण गराएका छन् । विद्लाय तथा क्याम्पसका प्रत्यक्ष सिकाइ गतिविधिहरु नियन्त्रित गर्नुको उद्देश्य शिक्षक विद्यार्थीमा हुन संक्रमण नियन्त्रणकै लागि रहेको उनले उल्लेख गरेका छन् ।

नुवाकोटमा बुधबारसम्म संक्रमितको संख्या १३१ पुगेको जनाउँदै ११६ जना निको भइसकेको सूचनामा उल्लेख गरिएको छ । १५ जना सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्