तेजाब अध्यादेश: पीडित र अभियान्ता खुशी, के छ व्यवस्था?



काठमाडौँ, असोज १५ । सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ कानुनको तेजाब आक्रमणमा परेका व्यक्ति तथा अभियन्ताहरूले स्वागत गरेका छन् । केही वर्षअघि तेजाब आक्रमणमा परेकी सङ्गीता पुलामी मगरले यो नयाँ कानुनले देशका धेरै युवालाई खुसी तुल्याएको बताएकी छिन। ‘कानुन नै बनेर यो अपराध अन्त्य नै हुन्छ भन्न सकिन्न तर यसले आपराधीको मनोबललाई कमजोर बनाउनेछ,’ मगरले भनिन, ‘जसले गर्दा तेजाब आक्रमणको अपराध कम भने हुने आशा गरेकी छु ।’

तेजाब आक्रमण हुँदै हुँदैन भन्न नसकिए पनि कानुन नहुनुभन्दा कानुन आएपछि कम्तीमा अपराधीलाई कारबाही हुने कुरा भने सुनिश्चित हुने उनको भनाइ छ । त्यस्तै लामो समयदेखि तेजाब आक्रमणमा परेका व्यक्तिहरूको जीवन र अधिकारका लागि काम गर्दैआएका अभियन्ता उज्ज्वल विक्रम थापाले नयाँ कानुन बनेकोमा खुसी व्यक्त गर्दै आफूले एउटा प्रण पूरा गरेको प्रतिक्रिया दिएका छन् । अहिले कानुन बने पनि तेजाब आक्रमणजस्तो अपराधलाई अन्त्य गर्ने विषयमा अझै लामो यात्रा बाँकी रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

तेजाब आक्रमणमा परेका चेलीहरूको पीडा र प्रण देखेर आफू तेजाबविरुद्धको अभियानमा लागेको बताउँदै उनले नयाँ कानुन पारितको श्रेय ती बहादुर नारीहरूलाई दिने एक ट्वीट गर्दै बताएका छन् । साथै उनले यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली र महान्यायाधीवक्ता अग्निप्रसाद खरेललाई पनि धन्यवाद दिएका छन् ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरेकी छन् ।

यी अध्यादेशहरू तेजाबजन्य अपराधविरुद्ध नेपाल सरकारको महत्वपूर्ण कानूनी तथा नीतिगत कदम साबित भएको छ । यी अध्यादेशहरूले नेपालमा तेजाब आक्रमणबाट पीडित व्यक्तिहरूले उठाउँदै आएको कडा कानूनको मागलाई समेत सम्बोधन गरेको छ ।

अध्यादेशले मुलुकी अपराध संहिता, २०७४ मा संशोधन गरी तेजाब प्रयोग गरी गरिने अपराध गर्नेलाई सजायले व्यवस्था गरेको छ । जसअनुसार कसैले कसैलाई तेजाब फ्याँकी, छर्किई, खन्याई वा प्रयोग वा सेवन गराई कसैको दुवै आँखा जली पूर्णरुपमा दृष्टि नष्ट भएमा, दुवै कानको सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाकमा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा कुरुप भएमा, महिलाका दुवै स्तन जलेमा वा कसैको यौनांग नासिएमा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई बीस वर्ष कैद र दश लाख रुपियाँ जरिबाना हुने व्यवस्था गरेको छ।

यो समाचार गोरखापत्र दैनिकले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्