लोक सेवा आयोगलाई परीक्षाका नियमित काम अघि बढाउन सरकारको आग्रह



काठमाडौं असोज १५ ।

सरकारले लोक सेवा आयोगलाई विज्ञापन र परीक्षाका नियमित काम अघि बढाउन आग्रह गरेको छ।

सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गत वैशाखदेखि रोकिएका परीक्षा, विज्ञापन लगायतका नियमित कार्य अघि बढाउन आयोगलाई आग्रह गरिएको जानकारी दिएका हुन्।

सरकारको निर्णयअनुसार आयोगले स्वास्थ्यका मापदण्ड र प्रक्रिया पूरा गरी परीक्षा सञ्चालनको सूचना प्रकाशन गर्नेछ। मन्त्रिपरिषद्ले मदन भण्डारी प्राद्यौगिक विश्वविद्यालय स्थापनाका लागि सो सम्बन्धी विधेयक निर्माण गर्न विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रवक्ता ज्ञवालीले परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्य सचिवमा नियुक्त गरिएको, पूर्वअर्थमन्त्री युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूतका साथै पनामा, कोस्टारिका, मेक्सिको, एल सल्भाडोर, होन्डुरस र ग्वाटेमालाका लागि गैरआवासीय राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको पनि जानकारी दिए।

सरकारले पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्यका लागि आवासीय राजदूत तथा आयरल्यान्ड र माल्टाका लागि गैरआवासीय राजदूतका लागि नियुक्तिको सिफारिस गरेको छ भने निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतका साथै वोत्सवाना, केन्या, लिसोथो, जाम्बिया, जिम्बाबे, ग्याबोन, मोजाम्बिक मरिसस, कंगो, तान्जानिया, सेसल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरेको पनि ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्