अब नियमित विज्ञापन प्रक्रिया सुरु हुन्छ : लोक सेवा आयोग



काठमाडौं असोज १६ ।

लोक सेवा आयोगले कर्मचारी माग भएमा नियमित पदपूर्तिको कार्यक्रम अघि बढाउन तयार रहेको बताएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले नियमित विज्ञापनको सम्पूर्ण पदपूर्तिसम्बन्धी व्यवस्था फुकुवा गर्ने निर्णय गरेपछि आयोगले पदपूर्ति कार्यक्रम अघि बढाउन तयार रहेको बताएको हो ।

अहिले नयाँ भर्ना प्रक्रियाका लागि माग नरहेको र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग पठाएमा नियमित भर्ना प्रक्रियाका काम सुरु गर्ने लोक सेवा आयोगकी प्रवक्ता गीता कुमारी होमेगाईले बताए । लोक सेवाको नियमित तालिकाअनुसार पनि अब विभिन्न तहमा नियमित विज्ञापन आह्वान गर्ने समय भएकोले मन्त्रालयबाट माग आउनसाथ विज्ञापन प्रक्रियामा जाने उनले बताए ।

कोरोना भाइरस महामारी रोकथामका लागि लगाएको लकडाउनसँगै सरकारले कर्मचारी भर्ना प्रक्रिया स्थगित गरेको थियो । परीक्षाको प्रक्रिया सुरु भइसकेका पदको बाँकी प्रक्रिया पूरा गर्न यसअघि नै अनुमति दिए पनि सरकारले नयाँ सरकारी कर्मचारी भर्नाको नयाँ नियमित विज्ञापनको काम सुरु गर्न अनुमती दिएको थिएन ।

आयोगले नयाँ विज्ञापन स्थगित हुँदा निजामतीसहित विभिन्न सरकारी सेवाका लागि परीक्षाको तयारी गरिरहेका हजारौँ मानिसहरू अन्योलमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्