सात सय कैदीलाई कोरोना संक्रमण, आठको मृत्यु



काठमाडौं, असोज १८ । देशभरका विभिन्न कारागारमा रहेका सात सय भन्दा बढी कैदीबन्दीलाई कोरोना सङ्क्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

सङ्क्रमितमध्ये हालसम्म ८ जनाको मृत्यु भएको कारागार विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङ्मा एकरएक जनाको निधन भएको सापकोटाले बताए ।

प्राप्त विवरणअनुसार अहिलेसम्म विभिन्न कारागार कार्यालयका एक हजार ९०० बढीको पिसिआर परीक्षण भएको थियो । त्यसमध्ये ७०० पोजिटिभ भएको र झण्डै २०० उपचारपछि निको भएको जनाइएको छ ।

विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ । सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई समेत बन्द गरिएको छ । पछिल्लो दिनयता आफन्तले ल्याएको खानेकुरासमेत प्रवेश निषेध गरिएको बताइएको छ।

यो समाचार गोरखापत्र दैनिकले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्