संक्रमणदर वृद्धि: एक सयमा ७४ जना कोरोना संक्रमित



काठमाडौं, असोज १८ । प्रत्येक १ सय जनामा ७४ जना कोरोना भाइरस संक्रमणमुक्त भएको पाइएको छ । देशभर हालसम्म ८४ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएकामा ६२ हजार ७ सय ४० संक्रमणमुक्त भएका छन् । यसरी हेर्दा हालसम्म कुल संक्रमितमध्ये ७४ दशमलव १८ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोजयता २६ हजार २ सय ४३ जना संक्रमित भएकामा २१ हजार १४ जना संक्रमणमुक्त भएका छन् । गत आइतबार ८ सय ८५, सोमबार ७ सय ४२, मंगलबार ७ सय १३, बुधबार १ हजार ५७, बिहीबार ९ सय ६१, शुक्रबार ३ हजार ३ सय ७ र शनिबार २ हजार ४२ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभर शनिबार २ हजार १ सय २० जनामा कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ । देशभर २१ हजार ३ सय २ जना सक्रिय संक्रमित छन् । शनिबार एकै दिन आठ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या ५ सय २८ पुगेको छ ।

७ वटा जिल्लाका २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुनसरीमा २८ वर्षीया महिला, ललितपुरमा ८३ र ६८, सिन्धुपाल्चोकमा ४१, दोलखामा ६५ वर्षीय पुरुष, चितवनमा ७६ वर्षीया महिला र कैलालीमा ७९ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।

यस्तै, काठमाडौं उपत्यकामा शनिबार १ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा गरी १ हजार १ सय ७७ जनामा कोरोना भेटिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ जना संक्रमित भेटिएका छन् । भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २७ हजार ९ सय १८ पुगेको छ । काठमाडौंमा २२ हजार ६ सय ७४, ललितपुरमा २ हजार ७ सय ९६ र भक्तपुरमा २ हजार ४ सय ४८ संक्रमित पुगेका छन् ।

यस्तै, देशभर हाल २ सय ४८ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । गत २४ घण्टामा भेटिएका २ हजार १ सय २० संक्रमितमध्ये २ सय ४८ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २ सय १७ जना आईसीयू र ३१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्