‘विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त’



लन्डन असोज १८ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएको तथ्यांक सार्वजनिक भएको छ ।

गैरआवासीय नेपाली सङ्घ(एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन् । संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार ५२८ नेपाली कोरोना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता दक्षिण अफ्रिकामा रहेका एक नेपालीको ज्यान गएको छ । समितिका अनुसार कोरोना सङ्क्रमणका कारण विदेशमा हालसम्म १८ देशका २६६ नेपालीको ज्यान गएको छ । यस साता स्पेन, भारत, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको एनआरएन कोभिड –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये एक लाख २४ हजार ९८ जनामा कोरोना सङ्क्रमण भएको छ । तीमध्ये ९८ हजार ६५६ कोरोना भाइरसबाट मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्