सरकारले उपत्यकावासीलाई भन्यो- ‘कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ’



काठमाडौं असोज २१ । नेपाल सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै उनले भने, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’ अरु बेला जस्तो काठमाडौं-गाउँ-काठमाडौं ओहारदोहोर गर्दा संक्रमण पनि ओहोरदोहोर गर्ने भन्दै उनले सतर्क रहन आग्रह गरेका छन् ।

दसै पारिवारिक पुनर्मिलन र आशीर्वाद लिने चाड भएको तर कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेको भन्दै मन्त्री ज्ञवालीले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्