दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित शिक्षकहरुमा कोरोना संक्रमण पुष्टि



नुवाकोट,असोज २४ ।जिल्लाको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित स्थानीय विद्यालयका शिक्षकहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार संकलन गरिएको स्वाबमध्ये अध्यक्ष, उपाध्यक्ष,स्थानीय विद्यालयका शिक्षकहरु समेत ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको गाउँपालिका श्रोतले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्यले साझापथसंग कुराकानी गर्दै केहि साताअघि कार्यालय विशेष काठमाडौं गएको तर त्यस समय स्वास्थ्यका सम्पुर्ण मापदण्ड अपनाएको बताइन्। उपाध्यक्ष आचार्यका अनुसार संक्रमण पुष्टि भएकामध्ये एम्बुलेन्स चालक,गाउँपालिकाका कार्यालय सहयोगी, गाउँपालिकाका चालक र ५ जना शिक्षक तथा शिक्षकका परिवार रहेका छन् ।बिदेशबाट आएका क्वारेन्टाइनमा रहेकाको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको बताइएको छ।

गत सोमबार गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङ, उपाध्यक्ष अन्जु आचार्य लगायत केही कर्मचारी, सवारी चालक एवं स्थानिय व्यापारीहरु गरी १८ जनाको स्वाव संकलन गरिएको थियो ।

केहि दिनदेखि अस्वस्थ महसुस गरेका उपाध्यक्ष अन्जु आचार्य बाहेक कोरोना संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ। आफ्नै घरको आईसोलेसनमा रहेका उपाध्यक्ष आचार्यले सुरुमा टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपनी हाल स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताइन।

प्रतिक्रिया दिनुहोस्