Shree Baundeshwor Secondary School

केन्द्र सरकार ‘लौह गठबन्धन’ बनेकाले जनताले दु:ख, पीडा सहनु परिरहेको छ : डा. लोहनी [अन्तर्वार्ता]



पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय डा. प्रकाशचन्द्र लोहनी पूर्वअर्थमन्त्री हुन् । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन अध्यक्षमध्येका एक डा. लोहनी संविधानसभा सदस्य पनि बनेका थिए । नुवाकोटको समग्र विकास र देशकै मार्गचित्र कोर्न सक्ने क्षमता भएका अध्यक्ष लोहनी पछिल्लो समय नेकपा नेतृत्वको सरकारका गतिविधिप्रति भने सन्तुष्ट छैन । न त नुवाकोटको विकासमा अहिलेका जनप्रतिनिधिले खेलेको भूमिकाप्रति नै । आगामी निर्वाचनमा राप्रपा पार्टीलाई सशक्त पार्दै वैकल्पिक शक्ति बनाउने उद्घोष गरेका डा लोहनीसँग सरकारका गतिविधि, पार्टीका गतिविधि र अबको रणनीति सम्बन्धमा साझा पथका लागि भरत तामाङले गरेको कुराकानीको सम्पादित अंश ।

पछिल्ला दिनहरु कसरी बितिरहेको छ यहाँको ?

अहिले हामी पार्टीको काममा व्यस्त छौं । यद्यपि कोरोनाले गर्दा व्यक्तिगत सम्पर्क गर्नलाई अलि सजिलो छैन । तैपनि हामी पार्टीको काममा लागिरहेका छौं ।

वर्तमान राजनीतिक गतिविधिलाई चाहिँ कसरी नियालिरहनुभएको छ ?

२०२८ सालमा मैले इटम्वहालमा भाषण गर्दा भनेको थिएँ, ‘लथालिङ्ग देशको भताभुंग चाला, जुन पार्टीले सक्ला त्यही पार्टीले खाला’ अहिले त्यही छ स्थिति । नेकपा सरकारको नेतृत्वमा छ । नेकपाका नेताहरुले देशमा भ्रष्टाचारलाई संस्थागत गर्नुभएको छ । सिद्धान्त भन्ने कुरा केही पनि छैन । समाजवाद उन्मुख भएको होइन कि देश भ्रष्टाचार उन्मुख भएको छ । जुनसुकै ठूल्ठूला भ्रष्टाचार भए पनि त्यसलाई चोख्याउने काममा सरकारी संस्थाहरु अथवा संवैधानिक संस्थाहरु देखिएको छ । त्यसकारण मान्छेमा आक्रोश छ, असन्तोष बढेर गएको छ । कुरा ठूल्ठूला, कामचाहिँ शून्य । डेलिभरी केही पनि छैन । यहाँसम्म कि नेपाल सरकार एकातिर पैसा छैन भनिराखेको छ । अर्कोतिर खर्बौं रुपैयाँ पैसा भएर पनि खर्च गर्न नसकेर बसिरहेको अवस्था छ । मतलब विकासका लागि चाहिने मूल्य मान्यता अबलम्बन गरिएको छैन । विकास भनेको लक्ष्यकेन्द्रित निर्णय गर्नु पर्ने विषय हो । त्यो निर्णयलाई चाहिने अनुशासन, दृष्टिकोण सत्ताधारीहरुमा छैन । उहाँहरुमा सत्तामा हामी छौं । पाँच वर्ष हामीलाई केही गर्न सक्दैन । पाँच वर्ष यो देश हाम्रो बिर्ता हो, नभने पनि । भनेको मान्छे राख्न/फाल्न सक्छौं । कसैले भन्न सक्ने अवस्था छैन । जे गर्न पनि पाइन्छ । अर्को चुनाव भनेको देखा जायगा भन्ने मनस्थिति देखिएको छ । त्यसमा उहाँहरुको पार्टीबाट पनि बारम्बार विरोध आइरहेको छ । जसले पार्टीमा एक किसिमको संघर्षको स्थिति सुरु भएको छ । तर देशलाई गुणात्मक आर्थिक विकास गरेर आमनेपाली जनताको गरिबी हटाउने, आम नेपाली जनतालाई माथि उठाउने कुरामा पटक्कै छैन ।

अहिलेको कोरोना महामारीलाई कसरी नियन्त्रण गर्ने भन्नै कुनै दृष्टिकोण पनि छैन । सके पनि नसके पनि लकडाउन । लकडाउनले नभएपछि अस्पतालहरुको सुधार गरेर अथवा कन्ट्याक्ट ट्रेसिङलाई इफेक्टिभ गरेर कसरी नियन्त्रण गर्ने ? जसरी अरु देशहरुले नियन्त्रण गर्न खोजिराखेका छन् । भारतकै हेर्नुस् दिल्लीमा नियन्त्रण भइरहेको छ । नेपालमा अहिले एकदिनमै चार हजार बढी मान्छे संक्रमित भइरहेका छन् । यसलाई नियन्त्रण गर्ने नेपाल सरकार हातखुट्टा छोडेर बसेको छ । जे हुन्छ हुन्छ भन्ने स्थितिमा सरकार बसेको छ ।

• राप्रपा टुटफुटको लामो शृंखला पछि फेरि एकढिक्का भएको छ । फेरि विभाजनको नियति त ब्यहोर्नु पर्ने होइन ?

राप्रपा एकढिक्का भएर लागेको छ । हामी धेरै आरोह अवरोह पार गरेर एकढिक्का भएका छौं । हामी अहिले तीन जना अध्यक्ष भएर बसेका छौं । यो ट्रान्जिसन पिरियड हो । यसमा पार्टी, सबैलाई लिएर गएर राष्ट्रमा राष्ट्रवादी प्रजातान्त्रिक सशक्त शक्तिको रुपमा यसलाई अगाडि उभ्याउँ । अनि नेपाली जनताको अघि एउटा वैकल्पिक शक्तिको रुपमा उभ्याउने हाम्रो अठोट छ । यसमा तलमाथि केही पनि हुँदैन । राष्ट्रिय प्रजातन्त्र पार्टी साँच्चै एक भएर गएको छ । २०४८ सालमा हामी दुइटा भएर खडा भएका थियौं । एउटा हलो चिह्न, अर्को गाई चिह्न थियो । त्यसपछिको ३० वर्षको पिरियडमा कहिले कता कहिले कता हुँदाहुँदै अहिले पार्टीको झन्डा गाई अंकित छ । पार्टीको चुनाव चिह्न हलो भनेर स्वीकार गरेको छ । हामी एक अर्कालाई विश्वास गरेर, सबै मिलेर पार्टी चलाउने प्रजातान्त्रिक पद्धति र प्रणाली अनुसार जानका लागि प्रतिबद्ध छौं ।

• तपाईं गणतन्त्रको समेत वकालत गरिसक्नुभएको मान्छे । अहिले राप्रपाको अध्यक्ष बन्नु भएको छ । पार्टीको सिद्धान्त, एजेन्डा के हुन्छ ?

त्यतिबेला आन्दोलनपछि म राष्ट्रिय जनशक्ति पार्टीमा थिएँ । जनशक्ति पार्टीले त्यो बेला गणतन्त्रलाई समर्थन गर्ने निर्णय गर्‍यो । त्यसैले पार्टीको लाइनलाई मैले समर्थन गरेको हो । त्यतिबेला पनि हामीले नेपालको पहिचान हिन्दू राष्ट्रको रुपमा हुनुपर्छ भनेर प्रस्ताव पनि पेश गरेका थियौं । तर अहिले यत्तिका वर्ष हेर्दाखेरी राष्ट्रपति पद भनेको जनताले आश गरेको र सम्मान गरेको ठाउँ हो तर त्यसलाई पार्टीले जे भन्यो त्यही गर्ने । एउटा रबर छाप लाउने संस्थाको रुपमा प्रयोग भयो । पार्टीभित्र पनि एउटा गुटको लागि प्रयोग भएर । राष्ट्रपति साँच्चिकै नेपाली जनताको अभिभावकत्व प्रदान गर्ने गरी यहाँका पार्टीहरुले लिएर जान सकेनन् । त्यसकारण अहिलेको अवस्थामा शासन गर्ने भनेको सार्वभौम जनता नै हो । सार्वभौमिकता जनताको हो । जनता सर्वोच्च हो । तर २५० वर्ष, ३ सय वर्षदेखि आएको नेपालको राजसंस्थालाई एउटा नैतिक शक्तिको रुपमा उभ्याउँदा खेरी नेपालको एकताका लागि, पहाड, हिमाल, तराईका नेपालीबीच एकताको लागि यसले सशक्त भूमिका खेल्न सक्छ भन्ने हामीलाई लागेको हो । जस्तो बेलायत, जापानको राजसंस्था, अरु देशहरुको राजसंस्था वा थाइल्यान्डको राजसंस्था । सबैको अभिभावकत्व हुने र नैतिक शक्तिको रुपमा राजसंस्था स्थापित हुनुपर्छ भन्ने हाम्रो धारणा हो । कतिले अहिले पनि यस्तो हुन्छ र भन्छन् । जुनसुकै संस्थाले समयसांपेक्ष समयअनुसार रुपान्तरित गर्दै गयो भने त्यो संस्था अड्छ । त्यो संस्थालाई प्रयोग गर्न सकिन्छ ।

बेलायतमा पनि राजसंस्था एकपटक निकालिएको थियो । तर रुपान्तरित हुँदै एकताको केन्द्र हुँदै गएपछि त्यत्रो सम्पन्न राष्ट्रमा पनि उपयोगिता छ । हुँदा हुँदा अष्ट्रेलियाले समेत त्यसैलाई मानेको छ । उसले हाम्रो माथिको संस्था तपाईं नै हुनुस् भनेर मानेको छ । त्यसको मतलब अस्ट्रेलियामा शासन गरेको छैन नि ! सबैलाई अभिभावकत्व हुने गरी रुपान्तरित हुँदै गयो । त्यसले गर्दा उपयोगिता हुँदै गयो । हामीले कल्पना गरेको पनि नेपालमा राजसंस्था भनेको रुपान्तरित रुपमा सबै नेपाली जनतालाई अभिभावकत्व दिने नैतिक राजसंस्थाको रुपमा स्थापना हुनु । नेपालको विशिष्टतालाई पहिचान गराउने पनि उपाय हो । नेपालीहरुलाई एकताका लागि बल दिने पनि त्यो उपाय हो ।

राजसंस्था चाहिनुको अरु कारण पनि छन् ?

कारण नेपालको हित । नेपालीको हित र नेपालको एकता । नेपाल हिन्दु र बुद्धको संस्कृतिको संगम हो । यस्तो देश संसारमै छैन । मलाई लाग्छ ठूल्ठूला दुई धर्मको उठान भएको कित प्यालेस्टाइन होला कि त नेपाल नै हो । नेपालका ऋषिमुनीहरु जब जीन्दगी र अस्तित्वको चिन्तन गर्न पर्‍यो । मानिस ईश्वरसँग सम्बन्धबारे जब चिन्तन गर्न पर्‍यो भने हिमवत् खण्ड नेपालमा यहाँ आउँथे । अध्ययन गर्थे । र ठूल्ठूला विचारकहरु, चिन्तकहरुले यहाँ अध्ययन गरेका छन् । त्यो संस्कार लिएर आएका हौं हामी । यो ५ हजार वर्षको सांस्कृतिक संस्कार । यसका नराम्रा पक्षलाई । मानवताविरुद्ध र मानवतासँग नमिल्ने कुरालाई । २१ औं शताब्दीका एकता, समावेशीताका दृष्टिकोणहरुमा नमिल्ने कुराहरु छन् भने त्यसलाई त्याग्नु पर्दछ । तर यसका राम्रा पक्षहरुलाई लिएर जाँदाखेरी हामीले नेपालको विशिष्टता संसारभरिको १ सय ६०/७० करोड मानिसका लागि नेपाल तीर्थस्थल हुनसक्छ । त्यसैले नेपालको हिन्दु पहिचान हुनुपर्छ भन्ने हाम्रो कल्पना हो । आजको नेपालको परिवेशमा एकताका लागि । भारत र चीनको बीचमा बसेको । शासन नेपाली जनताले गर्ने । विशिष्ट इतिहास र नैतिक शक्तिको रुपमा रहेको राजसंस्था रहँदा नेपालको एकतालाई बलियो गर्छ । पहिचानलाई बलियो गर्छ । २१ शताब्दीको सबै नेपालीहरुलाई माथि उठाउने चुनौतीहरुका लागि मद्दत गर्छ भन्ने हाम्रो धारणा हो ।

पूर्वराजासँग बारबार भेटघाट भइरहेको भन्ने कुरा बाहिर आएको थियो । त्यो साँच्चो हो भने कस्ता विषयमा कुरा हुन्थ्यो ?

मेरो भेट सबैसँग हुन्छ । पूर्वराजा पनि हाम्रो देशको सम्मानित नागरिक हो । उहाँसँग भेट्न नहुने भन्ने कुरा पनि छैन । त्यस्तै प्रचण्डज्यूसँग पनि होला । अरु नेताहरुसँग पनि भेट हुन्छ । त्यो हाम्रो स्वाभाविक काम नै हो । भेटघाट हुनु ठूलो कुरा होइन ।

भेटघाटमा पूर्वराजाले के भन्नु भयो त ?

उहाँहरुको चाहना जसरी पनि नेपालको उन्नति होस । जनताले चाहेको कुरा होस । शासकहरुले नेपाली जनताको उन्नति गरेर जाउन् । मैले देखेको उहाँमा (पूर्वराजा) मा नेपाल र नेपाली जनताप्रतिको प्रतिबद्धता र समर्पण छ । त्यो भन्दा बढ्ता केही देख्या छैन ।

• संघीयताप्रति पनि राप्रपाको असन्तुष्टि हो ?

संघीयता एउटा हतियार हो । बन्चरो राम्रोसँग चलाउन जानियो भने रुख काट्छ । जानिएन भने खुट्टा काट्छ । अहिले खुट्टा काट्ने किसिमले गइराखेको छ । प्रदेशका प्रमुखहरु नै भनिराखेका छन् हामीलाई अधिकार नै भएन । कित अधिकार राम्रोसित दिएर जान सक्नुपर्‍यो । मुख्य कुरा भनेको अधिकारको हस्तान्तरण हुनुपर्‍यो । काठमाडौंमा मात्रै बसेको अधिकार तलतिर हस्तान्तरण हुनुपर्‍यो । अहिले गाउँपालिका, नगरपालिकाहरुलाई अधिकार हस्तान्तरण भएको छ । हामी त्यसलाई पूरा समर्थन गर्छौं । गाउँपालिकालाई गाउँ सरकार भन्ने कन्सेप्ट भन्ने आएको छ । त्यसलाई हामीले कहाँ नकारेको छ र । त्यो त राम्रो कुरा हो । जानु पनि पर्छ । उनीहरुलाई बलियो पनि बनाउनुपर्छ । त्यसलाई पार्टीगत नहेरेर दुरुपयोग हुन थाल्यो भने पार्टीकै मान्छेलाई कारबाही गर्ने, सन्तुलनमा राख्ने र नियन्त्रणमा राख्न सक्नुपर्छ ।

तर अहिले केन्द्रको सरकार नै सन्तुलित छैन । कसैको नियन्त्रणमा छैन । केन्द्र सरकार भ्रष्ट व्यापारिक समूह, भ्रष्ट प्रशासन तत्वहरु “लौह गठबन्धन’ का कारण नेपाली जनताले दु:ख पीडा जनताले सहनु परिरहेको छ।

प्रसंग बदलौं । नुवाकोटको भौतिक र राजनीतिक विकासलाई कुन रुपमा नियाल्नु भएको छ ?

अहिले नुवाकोटमा शासक पार्टीकै दुई जना हुनुहुन्छ । उहाँहरुले कति गर्नुभएको छ । तपाईंहरुलाई थाहा होला । नुवाकोटमा मैले प्रतिनिधित्व गरेको बेलामा जेजति विकास र पूर्वाधारका कामहरु भएको थियो । ती कामलाई पनि अहिले अगाडि लैजान सकेको छैन । नुवाकोटका गाउँगाउँमा, डाँडा डाँडामा, लेक लेकमा बिजुली पुर्‍याएको भनेको प्रकाशचन्द्र लोहनीले हो । नुवाकोटलाई त्रिशूली-गल्छी हुँदै केरुङसम्म जोडेर चीनसित व्यापार गर्नुपर्छ भनेर त्यो बेला बाटो बनाएको छ । छहरे-टोखा जोडेर बाटो बनाएको हो । त्रिशूली गल्छी बाटो बनाएको हो । त्यो सब गरेको प्रकाशचन्द्र लोहनीले नै हो । ठूल्ठूला सिँचाई योजनाहरुको सुरुआत गरेका थियौं हामीले । तर अहिले सस्टेन्सिप कुराहरु केही पनि भएको छैन । त्यो बेला हामीले नुवाकोटमा इलम केन्द्र सुरु गरेका थियौं । त्यो पनि सुकेर गका छ । अहिले त जसरी पनि पैसा लिएर जानेर र आफ्ना पार्टीका कार्यकर्ताहरुलाई खुवाउने र कार्यकर्ताहरुलाई खुवाईसकेपछि यिनीहरुले हामीलाई पालेको छ भनेर हामी बलियो छौं भन्ने प्रवृत्तिबाहेक मैले अरु केही पनि देखेको छैन ।

• भनेपछि यहाँहरुको पालामा सुरु भएका योजना अघि बढेन भन्ने गुनासो हो ?

२०५९ सालमा म अर्थमन्त्री हुँदाखेरी पिच गर्ने भनेर एसियाली विकास बैंक (एडीबी) सँग सम्झौता गरेको थियो । त्यसमा विदुर रातमाटेलाई विशेष औद्योगिक क्षेत्र खडा गर्ने र त्यहाँ चिनियाँ लगानीकर्ता र नेपालीहरु मिलेर चीनमा निर्यात गर्ने । हामीले खाली अहिले विदेशबाट ल्याउने मात्र गरिरहेका छौं । उनीहरुको लगानी ल्याएर निर्यात गर्ने भनेर बजेटमा २०५९ सालमा घोषणा भएको थियो । त्यसपछि आएका ठूल्ठूला सरकारहरुले, नेताहरुले के गर्नुभयो त ? अहिलेका मान्यज्यूहरु (हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा) ले के गर्नु भइरहेको छ । मैले त केही देखिरहेको छैन । नुवाकोट ठूलो उद्योग क्षेत्र हुन सक्छ । त्रिशूली-गल्छी हाइवे बनेर केरुङसँग जोडिएको बेलामा, २०५९ सालमा कल्पना गरेको कुरा अहिले किन गर्न नसक्ने ? इकोनोमिक जोनम चिनियाँ लगानीकर्तालाई भित्र्याएर यहाँ उत्पादन भएका चिज स्पेसल्ली चीनमा निर्यात गर्छौं भनेर किन भन्न नसक्ने ? त्यत्ति काम गर्न नसक्ने ? मैले देख्दा खेरी उहाँहरु सानातिना कुराहरुमा अल्झिनुभएको छ । बृहत् योजनासहित जिल्लालाई कसरी अगाडि लैजाउँ भन्ने कुरामा ध्यान गएको छैन ।

यहाँहरु चुनावका बेला मात्रै गाउँ पस्ने कारणले पार्टी स्थानीयस्तरमा कमजोर भएको गुनासो सुनिन्छ नि ?
त्यो होइन । त्यो बेलामा थानीयस्तरमा हामी कमजोर भएको पार्टी टुटेकाले पनि हो । गाउँमा जाने विषयमा कोभिड सुरु हुनुभन्दा अगाडि त शिखरबेंसीदेखि सबैतिर घुमिरहेको थिएँ । हिँडेर धेरै ठाउँमा पुग्छु भनेर कस्सिएर लागेको थिएँ । सबैतिर । तर कोभिडले गर्दाखेरी अहिले त्यसरी पनि जान सकेको छैन । आमसभा गर्ने, भेटघाट गर्न आउ भनिराखेका छन् । कतिपयले हामी पार्टी प्रवेश गर्छौं भनिरहेका छन् । हामी पार्टी एकतामा लाग्छौं भनिराखेका छन् ।

पार्टी पहिले जस्तो थियो टुटफुटले गर्दा कमी भएको हो । तर अब हामी यत्ति सशक्त भएर जान्छौं । गाउँपालिका कमिटीहरु, बुथ कमिटीहरु बन्छन् । सशक्त भएर आउँदो वैशाखमा पार्टीको महाधिवेशन गर्ने भनेर लागिरहेका छौं । ठूलो अभियानमा लागिरहेका छौं । राष्ट्रिय प्रजातन्त्र पार्टी आउँदा दिनहरुमा एकताबद्ध भएर वैकल्पिक राष्ट्रवादी शक्तिका रुपमा नेपाली जनताको अगाडि स्थापित गर्नेछौं । र अहिलेको भाग शान्तिको जय नेपालको स्थितिलाई हामी अन्त गराउँछौं ।

• अन्तमा, नुवाकोटको विकासका लागि के छ तपाईंको दृष्टिकोण ?

नुवाकोट ठूलो औद्योगिक क्षेत्र हो त्यो । देविघाट, रातमाटे र विदुर सहरी र औद्योगिक क्षेत्रको विकास हो । उद्योगको क्षेत्र विकासका लागि बजार चाहिन्छ । पानी चाहिन्छ । बिजुली चाहिन्छ । श्रम चाहिन्छ । बजारका लागि चाइनाको केरुङ बजार छ । काठमाडौं यत्ति नजिक छ । पानीका लागि त्रिशूली नदी नै त्यहाँबाट बगिरहेको छ । बिजुली जति पनि छ । श्रम जति पनि छ । सम्म, टार जग्गाहरु छन् । त्यहाँ ठूलो औद्योगिक विकास गर्न र नुवाकोटमा सहरी विकास गर्न ठूलो सम्भावना छ । शिवपुरीबाट उता लाग्ने वित्तिकै छहरे फाँट छ । त्यहाँ काठमाडौंको अंगको रुपमा जोडेर शिक्षण संस्थाको रुपमा विकास गर्ने, उद्योगको विकास गर्नका लागि ठूलो सम्भावना छ । त्यसलाई व्यवहारमा उतार्न सकिन्छ, उतार्नुपर्छ । हजारौं मान्छेलाई काम दिलाउन सक्ने सम्भावना मैले देखेको छु ।

भिडियो वार्तालाप हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्