डा. गोविन्द केसीले तोडे आमरण अनशन



काठमाडौं असोज २५ । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. गोविन्द केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका छन् ।

डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर आइतबार बिहान अनशन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।

उनले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका थिए । अनशन तोड्नुअघि डा. केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाएका थिए ।

शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सरकार र डा. केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा. केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्