चिकित्सक संघले घोषणा गरेका आन्दोनका सबै कार्यक्रमहरु फिर्ता

काठमाडौं असोज २५ । १९ औँ आमरण अनशन बसेका प्राध्यापक डा. गोविन्द केसी र नेपाल सरकारबीच शनिबार राति सम्झौता भएसँगै नेपाल चिकित्सक संघले आन्दोनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ ।
संघले विज्ञप्ति निकालेर घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको जनाएको हो । संघले २७ दिनदेखि अनशनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको थियो ।
संघले बुधबार एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कार गर्ने घोषणा गरेको थियो भने आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिएको थियो ।
डा केसीले आइतबार बिहान अनशन तोडिइसकेको छ ।
यसअघि संघले केसीसँगको वार्ता सकारात्मक रुपमा अगाडि बढेको भन्दै आश्विन २३ गते शुक्रबार तय भएको स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेको थियो । संघले घोषित आन्दोलनका कार्यक्रमहरुलाई संघका सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरका सम्पूर्ण स्वास्थ्यसंस्था, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न विशेषज्ञ समाज, सञ्चारकर्मी, तथा आमसर्वसाधारण नागरिकहरु लगायत विभिन्न संघ संस्थाहरुले जाहेर गरेको ऐक्यबद्धता र समथर्न प्रति संघले धन्यवाद दिएको छ ।