संघीय सांसद सानु पहाडीको निधन



काठमाडौं असोज २८ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा बुधबार निधन भएको छ । जनवादी गायिकासमेत रहेकी पहाडीको उपचारकै क्रममा काठमाडौँ मेडिकल कलेजमा निधन हो ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन् ।

ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएका पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन् । उनको असामयिक निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत पहाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्