सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, ५० बढि घाइते



सर्लाही असोज २८ ।

सर्लाहीका महेन्द्र रामको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले मलंगवामा गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज तथा अश्रु ग्यास प्रहार गरेको छ।

रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्युको छानबिन गर्न माग गर्दै बुधबार भएको प्रदर्शनमा प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंह, नागेन्द्रकुमार यादव, प्रदेश २ नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायतका नेता सहभागी थिए ।

महेन्द्र राम हत्याको छानबिन र उजुरी लिन माग गर्दै जिल्ला प्रहरी कार्यालय शान्तिपूर्ण प्रदर्शनका लागि पुगेलगत्तै प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार र लाठीचार्ज गरेको प्रदेशसभा सदस्य सिंहको आरोप छ। प्रहरीले हवाई फायरसमेत गरेको उनको दाबी छ। प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको सिंहले बताए।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले प्रदर्शन नरोके प्रतिनिधिसभा सदस्य अमरेश सिंहलाई हतकडी लगाउने धम्की दिएको उनले आरोप लगाए। कांग्रेसले घटनाका दोषीलाई कारबाही तथा मृतक रामलाई सहिद घोषणा गर्न माग गर्दै आएको छ।

प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले कांग्रेस कार्यकर्ता र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका ४ जना घाइते भएको बताए। हत्याको घटनामा संलग्न भनिएका विजय महरा, विलासी महरा र रामप्रदेश महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले नेकपा कार्यकर्ताले रामको हत्या गरेको दाबी गरेका छन्।

कांग्रेस कार्यकर्ता राम नेकपामा प्रवेश नगरेपछि उनको हत्या भएको बर्माको दाबी छ। नेपाली कांग्रेसबाट निर्वाचित बर्माले प्रहरीले बाहिरका तीन जनालाई पक्राउ गरेर वास्तविक दोषीलाई जोगाउन खोजेको आरोप लगाएका छन्। यसअघि राम मृत्यु प्रकरणको विषयमा सत्यतथ्य छनबिन गर्न सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाइएको थियो।

प्रहरीले घटनाको छानबिन नगरेर पीडित परिवारको तर्फबाट जाहेरीसमेत लिन नमानेका प्रदेशसभा सिंहले आरोप लगाए। रामनगर–७ सिसौट बस्ने राममाथि गत २१ गते बेलुका आफ्नो घर अगाडि नै रहेको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। आक्रमणमा परी गम्भीर घाइते भएका रामको गत असोज २२ गते उपचारको क्रममा इन्डो अस्पताल वीरगंजमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्