काभ्रेपलाञ्‍चोकमा २ कोरोना संक्रमितको मृत्यु



काठमाडौं असोज २९ । काभ्रेपलाञ्‍चोक थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

एक महिनादेखि धुलिखेल अस्पतालमा भेन्टिलेटरमा उपचाररत बनेपा–१३ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । मधुमेहको समेत समस्या भएका उनी भदौ २७ गतेदेखि अस्पतालमा उपचाररत थिए । मृतक पुरुषकै ४५ वर्षका भाइको असोज १८ गते कोरोना संक्रमणकै कारण उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै मिर्गौलासम्बन्धी समस्या भएका बनेपाका ७७ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको छ । बुधबार धुलिखेल अस्पताल गएका उनी डायलासिसका लागि समय लिएर पीसीआर परीक्षण गरेर घर फर्किएका थिए । उनको घरमै मृत्यु भएको हो ।

यसैबीच कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि सोही दिन केन्द्रमा भर्ना गरिएको थियो । मृतक उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी रोगी रहेका थिए ।

यसैगरी सुनसरी धरान–१५ घर भएका ६६ वर्षीय पुरुषको केन्द्रमा बुधबार राति मृत्यु भएको केन्द्रका व्यवस्थापक बस्नेतले जानकारी दिए । मृतकलाई यही असोज २६ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासको समस्या भएपछी बुधबार उपचारका लागि केन्द्रमा भर्ना गरिएको थियो । मृतक मधुमेह, उच्च रक्तचाप र कोल्स्ट्रोलको दीर्घ रोगी रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्