कोरोना संक्रमितले परीक्षा दिन नपाउने लोक सेवाको मापदण्ड कार्यान्वयन नगर्नु : सर्वोच्च



काठमाडौं असोज २९ ।

सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड १९ संक्रमितले लोकसेवाको परीक्षा दिन नपाउने भन्ने मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

केही दिनअघि आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोरोना संक्रमितले संक्रमणको अवस्थामा परीक्षा दिन नपाउने भनेको थियो । मानव अधिकार रक्षक सञ्जालका तर्फबाट दायर रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आयोगको उक्त मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

आयोगको मापदण्ड संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार विपरीत भएको समेत आदेशमा उल्लेखमा गरेको छ । अदालतले स्वास्थ्य मापदण्ड परिपालना गरेर परीक्षा लिन र सोही अनुसार व्यवस्थापन गर्न पनि आदेशमा उल्लेख छ ।

यसअघि लोक सेवा आयोगले एक बेन्चमा एक जना मात्रै बस्ने गरी एउटा हलमा २५ जना परीक्षार्थी राखिने मापदण्ड बनाएको थियो  । परीक्षा केन्द्रमा परीक्षार्थी तथा परीक्षामा खटिने जनशक्तिले अनिवार्य रूपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, साथै कोरोना संक्रमित परीक्षामा सहभागी हुन नपाउने पनि उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्