सिकाइमा अनलाइन प्रभावकारी



काठमाडौँ, असोज ३० । कोरोना संक्रमण बढिरहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने तथा दुई पक्षबीच दोहोरो संवाद हुनसक्ने हिसाबले यसको पहुँचमा वृद्धि गर्दा न्यूूनतम सिकाइ सुनिश्चित गर्न सकिने जनाइएको छ ।

अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भौतिक कक्षा सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा अनलाइन माध्यमबाटै विद्यार्थीको पठनपाठन अगाडि बढाउनुपर्ने बताउछन् । रेडियो, टेलिभिजनको तुलनामा दोहोरो संवाद हुनसक्ने तथा कतिपय अवस्थामा शिक्षकले निगरानीसमेत गर्न सक्ने भएकाले यसलाई बढी प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । न्यूूनतम सिकाइबिना नै विद्यार्थीको कक्षा चढाइएको अवस्थामा शैक्षिक गुणस्तरसमेत कायम हुन नसकी शैक्षिक क्षेत्रमा ठूलो क्षति हुन सक्नेसमेत औँल्याइएको छ ।

सरकारले पनि अनलाइन माध्यमबाट हुने पठनपाठनलाई जोड दिने नीति बनाएको छ । हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने भनी घोषणा गरिएको छ । यस क्रममा इन्टरनेट सेवाको पहुँच नपुगेका विद्यालयमा इन्टरनेट सुविधा पुर्याउने कार्ययोजना तयार गरी लागू गर्ने र असोजबाट यसलाई निरन्तर सञ्चालन गरिने उल्लेख छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्