चितवन, नवलपरासी र धरानमा कोरोनाबाट ३ जनाको मृत्यु



काठमाडौं कात्तिक ३ । चितवन, नवलपरासी र धरानमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज (सीएमसी)मा उपचाररत भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ४ बजे मृत्यु भएको सीएमसीका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनलाई गत असोज २० गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप, प्रोस्टेट र थाइराइडबाट पनि पीडित ती पुरुषमा असोज २० गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै होम आइसोलेसनमा रहेका गैंडाकोटका एक कोरोना संक्रमितको मृत्यु भएको छ । असोज ३० गते कोरोना पुष्टि भएका गैंडाकोट नगरपालिका–१२ का ८५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले जानकारी दिए । पौडेलका अनुसार सेनाले उनको शव व्यवस्थापन गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरीको इटहरी–२० का ७८ वर्षीय पुरुषको सोमबार बिहान ३:०५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । रक्तअल्पताबाट पीडित उनमा पहिलो पटक असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दोस्रो पटक कात्तिक १ गते पनि उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनी असोज १९ गते अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्