सरकारले संक्रमित गन्‍नेबाहेक केही नगरेको गगन थापाको आरोप



काठमाडौं कात्तिक ३ । कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले कोरोना संक्रमितको संख्या गन्ने कामबाहेक केही नगरेको आरोप लगाएका छन् ।

कोरोना संक्रमितले आफ्नो परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको पछिल्लो निर्णयपछि सोमबार थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् । सांसद थापाले लेखेका छन्, ‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय ‘कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू !’ यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् ‘सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’

सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको थियो । सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय आइतबारदेखि नै लागू भएको छ,’ नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारको पछिल्लो निर्णयबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्