रानीपोखरीको बुधबार उद्घाटन हुने



काठमाडौं कात्तिक ४ ।

रानीपोखरीको भोलि बुधबार उद्घाटन हुने भएको छ ।

पोखरी र पोखरीबीचको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सकिएपछि उद्घाटन हुन लागेको हो । बुधवार मध्याह्न १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्न लागेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार पुनर्निर्माणपछि बत्ती जोड्ने, रंगरोगन गर्ने, सरसफाइ गर्ने लगायतको काम सकिएपछि उद्घाटन गर्न लागिएको हो । २०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरीको शिलान्यासबाटै पुनर्निर्माण अभियान सुरु गरेकी थिइन् । लामो समयको अलमल र विवादपछि रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको हो ।

बालगोपालेश्वर मन्दिर पनि मल्लकालमै रहेको ग्रन्थकुट शिखर शैलीमै बनेको छ । त्यसअघि राणाकालमा यो मन्दिर गुम्बज शैलीमा पुनर्निर्माण भएको थियो । सुरुमा रानीपोखरी काठमाडौं महानगरले जिम्मा लिएर अलपत्र पारेको थियो ।

पोखरीदेखि पर्खालसम्म सबैतिर कंक्रिट प्रयोग भएपछि विवाद भयो । रानीपोखरीको पुनर्निर्माणमा कंक्रिट प्रयोग गर्ने अडानले मेयर विद्यासुन्दर शाक्य विवादमा पनि तानिएका थिए ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी तथा पुरातत्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मा लिएका थिए ।

भक्तपुरका कालीगढ ल्याएर परम्परागत तवरले कालोमाटोको प्रयोग गरेर पोखरीलाई पानी अडिने बनाइएको थियो । भूकम्पबाट क्षति पुगेको रानीपोखरीले करिब साढे ४ वर्षमा पुनर्जीवन पाएको छ ।

प्रतिक्रिया दिनुहोस्