कोरोनाबाट गर्भवतीसहित थप ४ जनाको मृत्यु



काठमाडौं कात्तिक ६ । कोरोना संक्रमणबाट गर्भवतीसहित ४ जनाको मृत्यु भएको छ ।
चितवनमा कोरोना संक्रमण पुष्टि भएकी ३३ वर्षीया गर्भवतीको बिहीबार बिहान भरतपुरको सरकारी अस्पतालमा निधन भएको सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । तनहुँको शुक्लगण्डकी नगरपालिका स्थायी ठेगाना भई हेटोंडा–५ बस्दै आएकी ती महिला असोज ३० गते भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । खोकी र श्वासप्रश्वासको समस्यासहित अस्पताल आएकी उनमा त्यसै दिन संक्रमण पुष्टि भएको थियो ।

यस्तै रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनका अनुसार असोज २२ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएका पाणिनिका संक्रमितको बुधबार राति ९:२४ बजे मृत्यु भएको हो । त्यस्तै, कात्तिक १ गते कोरोना पुष्टि भएका तिलोत्तमाका संक्रमितको बुधबार राति १२ बजेर ७ मिनेटमा मृत्यु भएको गौतमले बताए ।

कात्तिक ३ गते कोरोना पुष्टि भएका इनरुवाका ८३ वर्षीय पुरुषको बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उच्च रक्तचाप, मधुमेहलगायतका दीर्घरोगी ती पुरुषलाई कोरोना संक्रमण पुष्टि भएकै दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्