भूकम्पले भत्केका ६ हजार १८ वटा विद्यालय पुनर्निर्माण



काठमाडौं कात्तिक ६ ।

भूकम्पले भत्केका ६ हजार १८ वटा विद्यालय पुनर्निर्माण भएका छन् ।

अब झण्डै २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्पका कारण ३२ जिल्लामा ८ हजार विद्यालयमा क्षति पुगेको थियो ।

भूकम्प गएको ५ वर्ष ५ महिनामा ६ हजार १८ विद्यालयको पुनर्निर्माण सकिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । कोरोना सङ्क्रमण जोखिमपछि सरकारले गरेको ४ महिनाको लकडाउनका कारण विद्यालयको पुनर्निर्माणमा केही समस्या भएको प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ ।

चालु आर्थिक वर्षमा १ हजार ५ सय विद्यालयको काम भइरहेको र झण्डै ४ सय विद्यालय भने जग्गा अभाव र भूकम्पपछि मर्ज भएका कारण पुनर्निर्माणको सूचीबाट हटाइएको आयोजनाका उपनिर्देशक दिलिपशेखर श्रेष्ठले जानकारी दिए ।

जग्गा नभएका विद्यालयका लागि जग्गा खोजी गर्न प्राधिकरणले पालिकालाई आग्रह गर्दै आएको छ । प्राधिकरणको थपिएको अवधि असार मसान्तसम्म विद्यालयको पुनर्निर्माणको काम निरन्तर चल्ने र बाँकी रहेका विद्यालय शिक्षा मन्त्रालय अन्तर्गत पुनर्निर्माण इकाईमार्फत् काम हुने पनि आयोजनाका उपनिर्देशक श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्