जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर



एजेन्सी कात्तिक ७ ।

जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ ।

युरोपेली युनियनबाट बेलायतको बहिर्गमनपश्चात् पहिलोपटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो । नयाँ सम्झौताअनुसार बेलायतको योर्कशायर ल्याम्ब जापानमा बिक्री खुला हुनेछ भने जापानको मोटर निर्माता निसानका अटो पार्टस् बेलायतमा निकासी गर्न सहज हुनेछ ।

यी दुवै सामग्रीमा लाग्दै आएका करका दरहरुमा व्यापक कटौती हुने सम्झौतामा उल्लेख छ । सम्झौता समारोहमा सम्बोधन गर्दै बेलायतका अन्तर्राष्ट्रिय व्यापारमन्त्री लिज ट्रसले उदाउँदो सूर्यको देश जापानसँग स्वतन्त्र व्यापार सम्झौता गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताए ।

उनले एक स्वतन्त्र हैसियतमा व्यापार गर्न खुला भएको बेलायतका लागि जापानसँगको सम्झौता ऐतिहासिक रहेको पनि बताए । जापानसँगको व्यापार करिब २० अर्ब डलर वृद्धि हुने अपेक्षा गरिएको यस सम्झौताले बेलायती कम्पनीहरुलाई जापानमा व्यापार र व्यवसाय गर्न सहज हुने विश्वास गरिएको छ ।

वित्तीय सेवाहरुले जापानमा बेलायती सामानको बिक्रीमा व्यापक सुधार हुने अपेक्षा गरेका छन् । अहिल्यै बेलायतको कुल निकासीमध्ये २८ प्रतिशत जापानमा हुने गरेको छ । बेलायतबाट आयात हुने कोट र जुत्ता, स्टिलटन चिज, सुँगुरको मासु र बिस्कुटसमेतका सामान जापानी बजारमा अझ सस्तिनेछन् ।

सम्झौता समारोहमा बोल्दै जापानका विदेशमन्त्री तोसीमिचु मोटेगीले विगतदेखि बेलायतसँग रहँदै आएको व्यापारिक सम्बन्ध थप सुदृढ हुने बताउँदै इ–कमर्स र वित्तीय सेवासमेत जापानमा विस्तार हुने विश्वास व्यक्त गरे ।

जापानले यसअघि युरोपेली युनियनसँग स्वतन्त्र व्यापार सम्झौता गरेको थियो । जसमा बेलायत पनि सामेल सदस्य थियो । तर, युरोपेली युनियनबाट बेलायतको बहिर्गमन आगामी डिसेम्बरसम्ममात्र रहेकाले बेलायत र जापानबीच नयाँ सम्झौता भएको हो ।

जापान र बेलायतबीच भएको व्यापार सम्झौतालाई दुवै मुलुकका संसदले अनुमोदन गरेपछि आगामी सन् २०२१ बाट यो सम्झौता लागू हुनेछ । जापानको संसदले अर्को साता नै यो सम्झौता अनुमोदन गर्ने सम्भावना छ ।

जापानबाट बेलायतमा यसअघि वार्षिक करिब १४ अर्ब डलर बराबरको वस्तु तथा सेवा निर्यात हुने गरेको छ । जसमा अधिकांश सामान सवारी साधन, तिनका पार्टस् र अन्य मेसिनरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्