स्थानीय र प्रदेश निर्वाचनमा एमालेसहितका दलसँग सहकार्य गर्ने प्रचण्डको भनाइ
गोरखा,मंसिर ८ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा नेकपा एमालेसहित अन्य कम्युनिस्ट दलसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।
सोमबार गोरखा नगरपालिका–११ बाह्र किलोमा आयोजित सहिद परिवार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सबै कम्युनिस्ट घटकलाई समेटेर साझा शक्तिका रूपमा अघि बढ्ने विषयमा भइरहेको छलफल सकारात्मक रहेको बताउनुभयो ।
एमालेसहितका कम्युनिस्ट दलसँग सहकार्य गर्दै अन्ततः एउटै पार्टी निर्माण गर्ने तयारी भइरहेको उल्लेख गर्दै उहाँले कम्युनिस्ट एकता चुनावी सहकार्यमा मात्र सीमित नभई दीर्घकालीन रूपमा आन्दोलनलाई बलियो बनाउने उद्देश्यले अघि बढाइएको स्पष्ट पार्नुभयो ।
दाहालले आफू नेतृत्वको सरकारले सहिद तथा बेपत्ता योद्धालाई राष्ट्रिय सहिद घोषणा गरेको स्मरण गर्दै उक्त निर्णय सहिद परिवारको योगदानप्रतिको सम्मान भएको बताउनुभयो ।
उहाँले पार्टी संगठन सुदृढीकरणका लागि राष्ट्रिय जागरण अभियान सुरु गरिएको जानकारी दिँदै सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, स्थानीय तहको निर्वाचन र महाधिवेशनको तयारी अभियानका प्रमुख एजेन्डा रहेको बताउनुभयो । अभियानमार्फत पार्टी संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

