मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल बढ्यो, होटल व्यवसायी उत्साहित
भोजपुर,मंसिर ८। पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । अनुकूल मौसम र प्राकृतिक सौन्दर्यका कारण पर्यटकको चहलपहल बढेसँगै पदमार्ग आसपासका होटल तथा स्थानीय व्यवसायमा समेत कारोबार बढेको छ ।
स्थानीय होटल व्यवसायी नवराज काङमाङका अनुसार चखेवा क्षेत्रबाट दैनिक औसतमा १५० देखि २०० जना पर्यटक पदयात्रामा निस्कने गरेका छन् । यहाँका १६ वटा होटल पर्यटकले भरिभराउ हुने गरेका छन् । पर्यटकको आगमनले होटल व्यवसायसँगै स्थानीय कृषिउपज तथा घरेलु उत्पादनको बिक्रीसमेत बढाएको उहाँले बताउनुभयो ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउँदै आवश्यक पूर्वाधार विकास, संरक्षण, सरसफाइ र पर्यटकमैत्री सेवा विस्तारलाई प्राथमिकता दिइएको बताउनुभयो ।
प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको यस पदमार्गमा तावाभञ्ज्याङ, चखेवा, टेम्केडाँडा, मैयुङडाँडा, साल्पा पोखरी र सिलिचुङ चुचुरु प्रमुख आकर्षणका रूपमा रहेका छन् । यहाँबाट हिमशृङ्खला, हरियाली वनजङ्गल र रमणीय डाँडाकाँडाको अवलोकन गर्न सकिन्छ ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पर्यटनलाई स्थानीय उत्पादन र रोजगारीसँग जोड्न सके नागरिकको आयआर्जनमा वृद्धि हुने बताउनुभयो । पछिल्लो समय मुन्दुम पदमार्गले पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्याउन थालेको छ ।

