आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर १९ मिनेट



काठमाण्डाै, कात्तिक १०। आज दशैँको मुख्य दिन विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १० बजेर १९ मिनेट उत्तम रहेको समितिले जनाएको छ । ११ बजेर ३६ मिनेटपछि एकादशी तिथि लाग्ने भएकाले नेपालीहरुले बिहानैदेखि टीका ग्रहण कार्यक्रमलाई अघि बढाएका छन् ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने भएपनि कोरोना भाइरस संक्रमण बढ्ने भन्दै सरकारले संयमता अपनाउन अनुरोध गरेको छ।

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ :

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गादेवीको स्वरुप मानेर आशीर्वाद दिइन्छ : 

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

प्रतिक्रिया दिनुहोस्