मान्यजनबाट टीका लगाएर आशीर्वाद लिने क्रम मंगलवार पनि जारी



काठमाडौं कात्तिक ११ ।

बडादशैंको अवसरमा मंगलवार पनि मान्यजनबाट टीका लगाई आशीर्वाद लिने क्रम जारी छ ।

सोमवार विजयादशमीका दिन टीका लगाउन नभ्याएका र टाढा रहेकाले आजदेखि कोजागत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्छन् ।

देशका केही स्थान र समुदायमा भने एक दिन मात्रै टीका लगाउने चलन छ । पापमा अंकुश लगाउने विश्वासका साथ आजको दिनलाई ‘पापान्कुस’ एकादशी पनि भनिन्छ । घटस्थापनाका दिन राखेको जमरा कोजागत पूर्णिमाका दिन बिसर्जन गरेसँगै असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा मनाइने दशैं पर्व सकिन्छ ।

टीका थाप्न जानेको संख्या बढेसँगै काठमाडौंको शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ । दशैं मान्न राजधानी बाहिर गएकाहरु पनि आजदेखि फर्कन थालेका छन् । यता नेवार समुदायमा मान्यजनबाट विजयादशमीको टीका थाप्न छोरीज्वाइँसहित नातिनातिनालाई भोज बोलाउने चलन छ ।

जसलाई नेपाल भाषामा नखत्या भनिन्छ । यस्तो भोज पूर्णिमाको दिनसम्म बोलाउन सकिने प्रचलन छ । असन क्षेत्रका नेवार समुदायले आज अर्थात् एकादशीको दिन देवीको टीका थाप्ने परम्परा छ । यसलाई नेपाल भाषामा असं चालं भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्