कोरोनाबाट चितवन, सिरहा र बुटवलमा गरी थप ४ जनाको मृत्यु



काठमाडौं कात्तिक १४ । कोरोना भाइरस संक्रमणबाट चितवन, सिरहा र बुटवलमा गरी थप ४ जनाको मृत्यु भएको छ ।

विभिन्न अधिकारीले दिएको जानकारी अनुसार चितवनमा २, सिरहामा १ र बुटवलमा १ जनाको मएत्यु भएको छ ।

स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार सुखीपुर नगरपालिका–८ का ७० वर्षीय वृद्धको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा बिहीबार मृत्यु भएको छ । एक्कासि ज्वरो र रुघाखोकी लागेर श्वास लिन गाह्रो भएपछि वृद्धलाई कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । सोही दिन स्वाब लिइएको उनको भोलिपल्ट पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

रिपोर्ट पोजिटिभ आएपछि प्रादेशिक अस्पतालको ओइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनी दमका रोगीसमेत थिए ।

यस्तै चितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जना चितवनका र अर्का रुपन्देहीका पुरुषको मृत्यु भएको हो । चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिए ।

उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित उनी कात्तिक ११ गते अस्पतालमा भर्ना भएका थिए । उनको स्वाव परीक्षण गर्दा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अस्पतालको कोभिड आईसियु कक्षमा उपचार भइरहेको थियो ।

यसैगरी रुपन्देहीको जिल्ला वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनको गएराति ११ बजेर ४७ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार मृत्यु भएको हो । कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पुष्टि गरे । संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी रहेको गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्