प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकाँक्षी योजना सार्वजनिक



एजेन्सी कात्तिक १४ ।

चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् ।

पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकाँक्षी योजना सार्वजनिक गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति सी जिनपिङको नेतृत्वको चीनले ट्रम्प प्रशासनले अमेरिकी प्रविधि बिक्रीमा लगाएको प्रतिबन्धबाट सिर्जित क्षतिलाई सीमित गर्ने प्रयास गरिरहेको छ । अमेरिकाले खासगरी सुरक्षा र जासुसीको आरोप लगाउँदै चिनियाँ प्रविधि कम्पनीहरुलाई एकपछि अर्को आदेश जारी गर्दै अमेरिकी चिप्सहरु बिक्री गर्न रोकि राखेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले जारी गरेको विज्ञप्तिमा विज्ञान र प्रविधि राष्ट्रिय विकासको लागि रणनीतिक महत्वका भाएकाले यो क्षेत्र आत्मनिर्भर हुने उल्लेख छ । विज्ञान र प्रविधिमाथिको सामथ्र्य निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढ्नुपर्ने विज्ञप्तिमा उल्लेख छ तर यसबारे विस्तृत विवरण दिइएको छैन ।

चीनमा सन् १९५० को दशकदेखि पञ्चवर्षीय योजना लागू छ । चार दशकयता खुला बजार र आर्थिक उदारीकरणको नीति अंगालेको चीनले पञ्चवर्षीय योजनाका आधारमा देशको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने गरेको छ जसमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका प्रमुख रुपमा रहने गरेको छ । योजनाको पूर्ण विवरण अर्को वर्षको मार्चमा सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्