स्वास्थ्य मापदण्ड अपनाइ तातोपानी नाका सञ्चालन



काठमाडौं कात्तिक १५ ।

पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड १९ रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाइ सुचारु भएको छ ।

कोरोना महामारी र बाढी पहिरोको कारण पटकपटक बन्द भएको नाका बिहीवारबाट खुलेपछि नेपालतर्फ समान आयात हुन थालेको छ । २०७२ सालको भूकम्पपछि लामो समय बन्द भएर खुलेको तातोपानी नाका केही समयमा नै पुनः बन्द भएको थियो । बीचमा खुलेको नाका पछिल्लो पटक कोरोना संक्रमणको जोखिमका कारण पुनः बन्द हुन पुगेको थियो ।

तर अहिले भने कोरोना संक्रमण रोकथामका लागि नाकामा उच्च सावधानी अपनाउँदै चिनियाँ ब्यापारीले अलपत्र परेको नेपाली व्यवसायीका सामान नेपाल पठाउन थालेका हुन् । अहिले नेपाल तर्फको पुरानो भन्सार यार्डमा चिनियाँ कन्टेनरले नै सामान पुर्याउन आउने गरेको छ । तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताए ।

श्रमीकहरुलाई स्वास्थ्य मापदण्ड सहित आइसोलेटेड क्षेत्रमा सामान लोड अनलोड गर्ने व्यवस्था मिलाइएको पनि प्रमुख खत्रीले बताए । अहिले मितेरी पुल वारिसम्म चिनियाँ कन्टेनरले सामान ल्याइदिने गरेका छन् । चिनियाँ पक्षले नेपालको पुरानो भन्सार यार्डमा सामान ल्याइदिने र त्यहाँबाट चिनियाँ कन्टेनर फर्किएपछि मात्रै नेपाली कामदार र नेपालको कन्टेनर जाने व्यवस्था मिलाइएको छ ।

लामो समय नाका सञ्चालन नहुँदा स्याउ लगाएतका खाद्य सामग्री आयात गर्ने व्यापारी मर्कामा परेका थिए । आफूहरुले आयात गरेको स्याउ तीन लटसम्म कुहिएको व्यापारीहरुले बताएका छन् ।

अब भने नाका निरन्तर खुल्नुपर्ने नाका सञ्चालनामा आँउदा स्थानीय बासिन्दालाई समेत रोजगारीको अवसर हुने भएकोले नाका निरन्तर खुल्नुपर्ने स्थानीय श्रमिकहरुले बताएका छन् । सामान लोड गर्ने नेपाली श्रमीकलाई क्वारेन्टाइनमा राखिएको छ भने प्रत्येक १४ दिनमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल तर्फका सवारी साधनहरु सामान लिन जानका लागि अनिवार्य निर्मलिकरण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । नाका खुलेसँगै दैनिक चारदेखि छ६ वटा कन्टेनरबाट सामान आयात भइराहेको भन्सार कार्यालय तातोपानीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्