क्लिन फिड: बजारको व्यवस्थापन र नियमनमा चुनौति



काठमाडौं कात्तिक १५ ।

विज्ञापन रहित क्लिन फिड पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् ।

विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरुको छ । यसबाहेक विज्ञापन नीति लागू भएपछि स्वदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण हुन नदिन र समग्र विज्ञापन बजारको व्यवस्थापन तथा नियमनको लागि चुनौति समेत बढेको विज्ञहरुले बताएका छन् ।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारणमा विज्ञापन रहित क्लिन फिड नीति लागू भएको एक साता पुगेको छ । तर कतिपय च्यानलहरुले क्लिन फिडका लागि आवश्यक उपकरण जडान गरिनसक्दा प्रसारण बन्द छ । क्लिन फिडका लागि प्रयोग हुने उपकरणको लागत उच्च हुने, सञ्चालन लागत र स्याटेलाइटको लागत बढ्ने भएकाले ग्राहकले तिर्नुपर्ने शुल्क पनि बढ्न सक्ने टेलिभिजन वितरकहरुले बताएका छन् ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष धु्रव शर्माले क्लिन फिडका लागि टेलिभिजन प्रसारकहरुले प्रविधिमा ठूलो लगानी गर्नुपर्दा खर्च बढेको बताए। त्यसैले ग्राहकले तिर्नुपर्ने शुल्क पनि अहिलेको भन्दा बढ्ने उनको भनाइ छ ।

सरकारले आधारभुत सेवा शुल्क निर्धारण गर्ने र विदेशी च्यानललाई प्याकेजमा हेर्न पाउने व्यवस्था नगरे ग्राहकले तिर्नुपर्ने शुल्क निकट भविश्यमा नै बढ्ने अध्यक्ष शर्माले बताए । आधारभुत प्याकेज बाहेकका च्यानलहरुमा मनपर्ने च्यानल मात्रै हेर्न पाउने सुविधा नदिने हो भने अहिलेको शुल्कमा २५ देखि ३० प्रतिशत सम्म बृद्धि हुने उनको भनाइ छ ।

क्लिन फिड लागू हनुभन्दा पहिले अधिकांश विदेशी च्यानल डाउनलिङ्क अनुमति लिएर प्रसारण गर्दै आएका थिए । तर क्लिन फिड लागू हुँदा दुवैतर्फ खर्च बढ्ने भएकाले भविष्यमा शुल्क बढाउनुपर्ने अवस्था आउनेमा वितरकहरुले जोड दिएका हुन् । तर अहिले क्लिन फिडका कारण कतिपय विदेशी च्यानल बन्द भएकाले तत्कालनका लागि शुल्क बढाइहाल्नुपर्ने अवस्था नरहेको पनि उनीहरुको भनाइ छ ।

नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल ९शशी० ले विदेशी टेलिभिजन प्रसारणमा क्लिन फिड लागू भएपनि नेपाली टेलिभिजनबाट डब विज्ञापन प्रसारण भइरहेकाले चुनौति अझैपनि बाँकी रहेको बताए। नेपाली टेलिभिजन प्रसारकहरुले कुनैपनि विदेशी डब विज्ञापन र विदेशी भाषाको विज्ञापन बजाउन पाउँदैनन् ।

सरकारले २०७६ कात्तिक ८ गते देखि विज्ञापन नीति लागू भएपनि नेपाली टेलिभिजनहरुले डब विज्ञापन बजाइदिदा चुनौति थपिएको उहाँको भनाइ छ । तर विज्ञापन बोर्डले यसको व्यवस्थापन सहजै गर्ने विश्वास रिजालको छ । सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताए ।

विज्ञापन बोर्डसामु विज्ञापनदाता, विज्ञापन एजेन्सी, विज्ञापन कर्ममा लागेका व्यक्तिहरु, उद्योगपति व्यापारीहरु र उपभोक्ता गरी पाँचवटै पक्षलाई समन्वय गर्नुपर्ने प्रमुख चुनौति रहेको उनको भनाइ छ । यस्तै समग्र विज्ञापन बजारको अनुगमन गर्नुपर्ने चुनौति पनि रहेको छ । त्यसैले बोर्डमा व्यवसायिक व्यक्तिहरु संलग्न हुनुपर्ने हुमागाईंले बताए ।

सरकारले २०७६ कात्तिक ८ गते देखि विज्ञापन नीति लागू गरेपछि क्लिन फिड कार्यान्वयनमा ल्याउनका लागि एक वर्ष अर्थात २०७७ कात्तिक ७ गते सम्मको समय दिइएको थियो । कात्तिक ७ गते पछि किल्नफिड लागू भएको छ । तर आवश्यक तयारी नपुगेको भन्दै अधिकांश विदेशी च्यानलहरु बन्द छन् ।

त्यसैले नेपाली टेलिभिजनमा प्रसारण हुने विदेशी विज्ञापन र विज्ञापन रहित विदेशी च्यानलको व्यवस्थापन तथा नियमनका र शुल्क व्यवस्थापनमा विज्ञापन बोर्डका लागि चुनौति धेरै नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्