कक्षा १२ को परीक्षा समय डेढ घण्टा मात्र



काठमाडौं, कार्तिक १६ । मंसिर ९ गतेदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने भएको छ । अघिल्ला वर्षको मोडेलअनुसरण गर्दै डेढ घन्टामा हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिँदै छ । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ । र, २० प्रतिशत आन्तरिक मूल्यांकन हुने गरी कार्यविधिमा उल्लेख छ ।

जस्तो– ८० पूर्णांकको विषय छ भने त्यसको ४० प्रतिशत अर्थात् ३२ अंकका लागि मात्रै परीक्षा लिइनेछ । सैद्धान्तिक र प्रयोगात्मकको अंक विषयअनुसार फरक छन् ।

अघिल्ला वर्षमा ८० पूर्णांकको विषयमा समूह ‘क’मा चार प्रश्न सोधेर तीनवटा हल गर्न दिइन्थ्यो भने अहिले एउटा मात्र हल गर्न दिने व्यवस्था हुँदै छ । विगतमा जति समूह थिए या लामो वा छोटो उत्तर आउने प्रश्न सोधिन्थ्यो, अहिले त्यही शैलीमा प्रश्न तयार गरिँदै छ । तर, प्रश्नको संख्या घट्नेछ ।

कोभिड–१९ का कारण विद्यार्थीलाई परीक्षा दिन सहज बनाउने उद्देश्यले तीन घन्टाको साटो डेढ घन्टा समय र ४० प्रतिशत मात्र मूल्यांकन गर्न लागिएको बताइएको छ।

यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्