कोरोनाबाट झापामा थप ३ र सुर्खेतमा १ जनाको मृत्यु



काठमाडौं कात्तिक १६ । कोरोना भाइरस संक्रमणबाट झापामा थप ३ र सुर्खेतमा १ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान झापामा मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । शनिवार मात्रै उपचारका लागि नोबेल पुर्‍याइएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै सङ्क्रमण पुष्टि आएको थियो ।

कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको घरमै मृत्यु भएको छ । मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा सङ्क्रमण पुष्टि भएको थियो । केही दिनयता उनी होम आइसोलेसनमा बसेका थिए ।

त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि शनिबार राति घरैमा मृत्यु भएको छ । कात्तिक १३ गते सङ्क्रमण पुष्टि भएको उनको घरैमा उपचाररत थिए ।

यस्तैगरी प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा नवराज केसीका अनुसार, कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि शनिबार राति १० बजे अस्पताल भर्ना गरिएका ती बिरामीको ११ बजे मृत्यु भएको हो । दशैँको सप्तमीको दिनमा उच्च ज्वरो आएपछि छिन्चुमा उनको प्रारम्भिक उपचार भएको थियो । ज्वरो कम नभएपछि त्यहाँबाट कोहलपुर रेफर गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्