टेकु अस्पतालले तोक्यो कोरोना सङ्क्रमितको उपचार खर्च र धरौटी रकम



काठमाडौं कात्तिक १६ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोना सङ्क्रमितको उपचार खर्च र धरौटी रकम तोकेको छ ।

नेपालमा कोरोना सङ्क्रमितको उपचार गर्ने यो पहिलो अस्पतालले पनि कोरोना सङ्क्रमितको उपचार खर्च र धरौटी रकम तोकेको हो ।

अस्पतालले एक सूचना निकालेर जटिल अवस्थाको बिरामीका लागि भेन्टिलेटरसहित आईसीयूमा दैनिक १५ हजार शुल्क लाग्ने जानकारी दिएको हो । जसअनुसार भर्ना हुनका लागि मात्रै ५० हजार धरौटी रकम तोकिएको छ । यस्तै भेन्टिलेटरबिना आईसीयूमा राखेको र क्याबिन आइसोलेशनमा राखेको दैनिक ७ हजार ५ सय शुल्क लाग्नेछ । यसका लागि बिरामीले भर्ना हुन ३० हजार धरौटी राख्नुपर्ने छ ।

मध्यम जटिल अवस्थाका सङ्क्रमित बिरामीलाई ग्यास्ट्रो आइसोलेशनमा राखेको दैनिक ३५ सयका दरले शुल्क लाग्ने सूचनामा उल्लेख छ । यसमा भर्ना हुन २० हजार धरौटी तोकिएको छ । तर उपचारमा संलग्न चिकित्सकले बिरामीको आर्थिक अवस्था, औचित्य र आवश्यकताका आधारमा उपचार शुल्कमा १० देखि शतप्रतिशत छुट दिन सक्नेछन् ।

तर त्यसको लागि बिरामीको गरिब परिचयपत्र वा सम्बन्धित पालिकाको सिफारिस पत्र, ७० वर्ष उमेर नाघेको नागरिकताको प्रमाणपत्र, अति अपाङ्गगताको परिचयपत्र, अशक्तताको प्रमाणपत्र र एकल महिलाको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्