अमेरिकाका अस्पतालहरुमा साइबर हमला



एजेन्सी कात्तिक १६ ।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा साइबर हमलका घटनामा पनि वृद्धि भएको छ ।

साइबर हमला गर्ने ह्याकरको निशानामा अस्पतालहरु पर्न थालेको भन्दै एफबीआई, स्वास्थ्य तथा मानव सेवा विभाग, साइबर सिक्यूरिटी एजेन्सीले जनाएको छ । ह्याकरहरुले पैसा असुल्ने उदेश्यले हमला गर्न थालेको टाइम म्यागजिनको समाचारमा उल्लेख छ । यसबारेमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुले चेतावनी समेत जारी गरेका छन् ।

साइबर सिक्यूरिटी कम्पनी फायर आईका अनुसार केही अमेरिकी अस्पतालहरुमाथि यस हप्ता रेन्जमवेयर हमला भएका छन् । रेन्जमवेयरले कम्प्यूटर ब्लक गरिदिन्छन् । यसरी बन्द भएका सिस्टमलाई चलाउन निश्चित पैसा तिर्नुपर्ने हुन्छ । तीनवटा अस्पतालहरुमा यस प्रकारको साइबर हमला भएको पुष्टि भएको टाइमको समाचारमा उल्लेख छ ।

फायर आईका प्रमुख प्रविधि अधिकारी चाल्र्स कारमकालका अनुसार यस्ता हमलामा यूएनसी १८७८ साइबर क्राइम समूहको संलग्नता रहेको पाइएको छ । पछिल्लो केही साता यता धेरै अस्पतालहरुमाथि आक्रमण भएको छ । केही अस्पतालहरुको कम्प्युटर नेटवर्क ठप्प भएका छन् ।

धेरै अस्पतालहरु आक्रमणको निशानामा रहेको बताइएको छ । आक्रमणकारी समूह पूर्व युरोपको रहेको समाचारमा उल्लख छ । विरामीहरुलाई अर्को अस्पतालमा पठाउने उदेश्यले उनीहरुले यस किसिमको हमला गर्ने गरेको बताइएको छ ।

आक्रमणकारीहरुले ट्रिकबोट मेल्वेयरको उपयोग गर्ने गरेको पाइएको छ । ट्रिकबोट समूहले अहिलेसम्म अमेरिकाका ३० अस्पतालबाट फिरौती रकम असुल गरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्