गम्भीर प्रकृतिका संक्रमितलाई नै छैन शय्या



काठमाडौं, कार्तिक १७ । कोरोना भाइरसका गम्भीर प्रकृतिका संक्रमितले नै अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान जोखिममा राखेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् ।

गत बुधबार कोरोना परीक्षण गर्दा काठमाडौंको कीर्तिपुर बस्दै आएका ४१ वर्षीय कपिल बस्नेतको रिपोर्ट पोजेटिभ आयो । उनलाई अत्यधिक ज्वरो आयो । पखाला पनि लाग्यो । उनी आत्तिए । उनलाई अस्पताल लैजान खोजिए पनि परिवारका सदस्यले कतै पनि शय्या खाली नभएको जवाफ पाए ।

कपिलका भाइ सबिन बस्नेतले भने, ‘दाइ धेरै बिरामी हुनुभयो, अस्पतालहरूमा धाएँ । तर धेरै अस्पतालले बेड खाली छैन भने । अनि नजिकैका चिकित्सकको सल्लाहमा दाइलाई औषधि खुवाएर घरमै राख्न बाध्य भयौं ।’

देशभर ३ सय ६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्

आइतबार देशभर ३७ हजार ७ सय ६५ सक्रिय संक्रमितमध्ये ३० हजार ९ सय ८६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ८ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्