प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ कात्तिक २७ मा



काठमाडौं कात्तिक १७ । संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुनुवाइ हुने भएको छ ।

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ कात्तिक २७ गते बिहीबार हुने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सरकारले गत असोज १५ गते पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायत र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि उनीहरुको नाम समितिसमक्ष पठाएको थियो ।

समितिले प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्तालाई सार्वजनिक लिखित सूचना जारी गरी आमन्त्रण गरेकामा आजको बैठकमा कुनै उजुरीकर्ता उपस्थित भएनन् । उजुरीकर्ताको नाम, नम्बर र वतन स्पष्ट नखुलेपछि समितिले १० दिने लिखित सूचना जारी उजुरीकर्तालाई बोलाएको थियो ।

प्रस्तावित राजदूत डा खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परेका छन् । समितिको असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग उजुरी आह्वान गर्दै सूचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्