कोरोनाका बिरामीलाई उपचारका लागि टेकु अस्पतालले धरौटी नलिने



काठमाडौं कात्तिक १७ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम सम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोभिड–१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन शै्यया र काउण्डरमा पत्राचार गरिएको बताए । यसअघि अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्दा रु २० देखि ५० सम्म धरौटी राख्नुपर्ने बताएको थियो । अस्पतालले स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको निर्देशनअनुसार नै शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीले निःशुल्क उपचार गर्ने नीति लिइएको उल्लेख गरेको छ ।

उनले अस्पतालमा भर्ना भएका बिरामीका लागि खाना, अस्पतालमा निःशुल्क रुपमा उपलब्ध औषधि तथा प्रयोगशाला र अन्य उपलब्ध परीक्षणहरु निःशुल्क रुपमा व्यवस्था गरिँदै आएको समेत जानकारी दिए ।

सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीका मात्र निःशुल्क परीक्षण र उपचार खर्च व्यहोर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्