काठमाडौं ओर्लिए भारतीय सेनाध्यक्ष



काठमाडौं कात्तिक १९ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं ओर्लिएका छन् ।

भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । नेपाली सेनाको जंगीअड्डा स्रोतले नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको उल्लेख गरेको छ ।

विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका छन् । विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिनेछ ।

नरवणेको गाडीको अगाडि-पछाडि जंगीअड्डाको सैनिक प्रहरी गणको टोलीले स्कर्टिङ गर्नेछ । सुरक्षा चुनौतीका कारण पछाडि नेपाल प्रहरीको एउटा टोली पनि रहनेछ ।

नरवणेले सीमा विवाद चर्किएका बेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए । त्यसैले उनलाई नेपालमा सुरक्षा चुनौती रहेको विश्लेषण नेपाली सेना, नेपालस्थित भारतीय दूतावासलगायतको विश्लेषण छ ।

बुधबार नरवणे नेपाल आएको पहिलो दिन कुनै औपचारिक कार्यक्रम राखिएको छैन । तर, नेपालस्थित भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाट हुनसक्ने भनिएको छ । पत्नीसहित आएका उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तयारीसमेत गरेको स्रोतको भनाइ छ ।

उनले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने कार्यक्रम शीतल निवासले बिहीबार राखेको छ ।

प्रतिक्रिया दिनुहोस्