जिल्ला प्रशासन कार्यालय नुवाकोट बारअनुसार सेवा, पञ्चकन्या, शिवपुरी, लिखुका लागि दुई दिन



नुवाकोट कात्तिक २० । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन जिल्ला प्रशासन कार्यालय नुवाकोटले बार अनुसारको सेवा कार्यान्वयन गर्ने भएको छ । प्रशासनमार्फत् प्रवाह हुने सेवा अबदेखि एक दिनमा चारवटा स्थानीयतहका सेवाग्राहीले पाउने भएका छन् ।

प्रशासनले बिहीबार एक सूचना जारी गर्दै शुक्रबारदेखि एक दिनमा चार स्थानीयतहको मात्र काम गर्ने जनाएको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालद्वारा जारी सूचनामा एक दिनमा चार स्थानीयतहको मात्र काम हुने र त्यसको लागि जिल्लामा रहेका १२ स्थानीयतहलाई तीन समूह बनाइएको छ ।

एक सातामा एक स्थानीयतहको दुईदिन मात्र सेवा उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ । सूचनामा विदुर नगरपालिका, सूर्यगढी, तादी र दुप्चेश्वर गाउँपालिको सेवाग्राहीको लागि आइतबार र बुधबार सेवा निर्धारण गरिएको छ ।

यस्तै, बेलकोटगढी नगरपालिका, तारकेश्वर, म्यागङ र किस्पाङ गाउँपालिकाको सेवाग्राहीको लागि सोमबार र बिहीबार सेवा उपलब्ध हुने उल्लेख गरिएको छ । यस्तै, पञ्चकन्या, शिवपुरी, लिखु र ककनी गाउँपालिकाको लागि मंगलबार र शुक्रबार सेवा उपलब्ध हुने जनाइएको छ ।

सामाजिक दुरी कायम राख्न तथा स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यान्वयन गराउन चुनौती भएकाले स्थानीयतहलाई एक सातामा दुई दिन मात्र सेवा उपलब्ध गराउने गरेर तालिका सार्वजनिक गरिएको जनाइएको छ । सार्वजनिक तालिका अनिश्चित समयको लागी कायम हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्