नुवाकोटमा थप १ हजार ६ सय ८० बोरा मल भित्रिँदै, अझै १ हजार १४६ बोरा मल स्टक



नुवाकोट कात्तिक २१ । नुवाकोट जिल्लामा विभिन्न किसिमका थप १ हजार ६ सय ८० बोरा मल भित्रिँदै छ ।

शुक्रबार बिहान वीरगन्जमा समन्वय भएअनुसार आजै वीरगन्जबाट २ गाडी (८४० बोरा) डिएपी र २ गाडी (८४० बोरा) यूरिया लोड भई आउन लागेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । उनका अनुसार भोलि (शनिबार) सम्म मलसहितको गाडी नुवाकोट आइपुग्ने छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय नुवाकोटलाई उद्धृत उनले भने, ‘हालै वीरगन्जबाट आएको १ गाडी (४२० बोरा) डिएपी र ३ गाडी (१३४० बोरा ) यूरियामध्ये बिक्री वितरणपश्चात् उक्त कर्पोरेशनको डिपोमा आजसम्म १२२ बोरा डिएपी, १५५ बोरा यूरिया र २९ बोरा पोटासमात्र स्टक रहेको छ ।’

यसैगरी कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय त्रिशूली, नुवाकोटका अनुसार उक्त कार्यालयमा ८४० बोरा पोटास स्टक रहेको छ । यी दुवै कार्यालयमा गरी नुवाकोटमा अझै १ हजार १४६ बोरा मल स्टक रहेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडबाट प्राप्त जानकारी अनुसार उक्त कार्यालयले खरिद गरेको डिएपी मल भारतको विशाखापटनम बन्दगाहबाट बिहीबारमात्र वीरगंज आइपुगेको छ । २/३ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी उक्त मल रिलिज हुने जानकारी प्राप्त भएको प्रजिअ ढकालले सामाजिक सञ्‍जालमार्फत जानकारी गराएका छन् । उनले ती मलहरु आएपछि डिएपीको उपलब्धता अलि सहज हुने अपेक्षा गरेका छन् ।

प्रजिअ ढकालले खेतीवाली खासगरी आलु र गहुँबालीको पिक सिजनमा मलको सहज आपूर्तिका लागि सबैले आ आफ्नो तहबाट पहल गर्न आग्रह गरेका छन् । अहिले किसानहरु धान भित्र्याउने चटारोमा छन् । विस्तारै जिल्लाका उत्तरी भेगमा गहुँ लगाउन सुरसार समेत भइरहेको किसानहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्