गुल्मीको रेसुङ्गामा कोभिड कृषि कार्यक्रम: जनप्रतिनिधिका आफन्तको रजाइँ



गुल्मी, कार्तिक २२ । रेसुंगा नगरपालिका–९ का पशुपतिराज मरासिनी रेसुंगा नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक हुन् । उनले नगरपालिकामा श्रीमतीका नाममा मरासिनी मौरी फर्म दर्ता गराएका छन् । उनको घरमा अहिले तीनओटा मौरीका घार छन् ।

ती घारबाट वार्षिक २४ किलो मह उत्पादन हुन्छ, जसको मूल्य २८ हजार ८ सय हुन्छ । फर्मलाई लुम्बिनी प्रदेश सरकारको कोभिड विशेष अनुदान कार्यक्रमबाट २० हजार अनुदान दिइएको छ ।

रेसुंगा नगरपालिका–६ की शान्ता पोखरेलले गत असारमा प्रदेश सरकारले दिने भनेको कोभिड कृषि कार्यक्रममा अनुदानका लागि फाराम भरिन् । उनी अनुदानका लागि योग्य पनि भइन् र २० हजार प्राप्त गरिन् । उनी सोही वडाका वडा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रेसुंगा नगरकमिटी अध्यक्ष हरिप्रसाद पोखरेलकी श्रीमती हुन् ।

पोखरेलले च्याउ खेती गरेको भन्दै वडाले अनुदानका लागि सिफारिस दिएको हो । सोही वडाका वडाध्यक्ष गनबहादुर गुरुङले श्रीमती रामप्यारी गुरुङलाई कोभिड विशेष अनुदानका लागि सिफारिस गरे । रामप्यारीले पशुपालन व्यवसाय गरेको भनेर अनुदान पाइन् पनि ।

रेसुंगा नगरपालिका–१० का नेकपाका अध्यक्ष देवीराम पाण्डेले श्रीमती सरस्वती पाण्डेका नाममा कोभिड विशेष अनुदानका लागि फाराम भरे । उक्त वडामा नेकपाकै तर्फबाट विजयी पदमप्रसाद पाण्डे वडाध्यक्ष छन् ।

जसका कारण सरस्वतीको नाममा तरकारी खेती गरेको भन्दै २० हजार विनियोजन भयो । सोही वडाकै वडादस्य मिनुराम पाण्डेकी श्रीमती अमृता पाण्डेले कोभिड विशेष अनुदानका लागि वडा कार्यालयमा फाराम भरिन् । उनी अनुदानका लागि योग्य पनि भइन् ।

नगरपालिकाको वडा नम्बर ९ बसपार्कका पुरुषोत्तम पन्थीले घर अगाडि करिब १० ओटा मुला, ३० ओटा प्याजका बिरुवा र ५÷७ वटा रायोको साग लगाएका छन् । तर राजनीतिक पहुँचका कारण उनले पनि राहतस्वरूप २० हजार लिए । उनी व्यावसायिक तरकारी खेती गर्ने सुरमै छैनन् ।

सोही वडाका खिमबहादुर विक, पुरन नेपाली र मुना विकले पनि प्रदेश सरकारबाट २०÷२० हजार अनुदान पाए । उनीहरुको घरमा व्यावसायिक पशुपालन तथा तरकारी खेती गरिएको छैन । वडाध्यक्ष नारायण बरालले वडामा तरकारी खेतीमा जम्मा तीन जनाले मात्र फाराम भरेकोले सबैले पाएको दाबी गरे ।

रेसुंगा नगरपालिका–३ का पूर्ण केसी नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का सभापति हुन् । उनको वडामा नेपाली कांग्रेसबाट विजयी थम्मनबहादुर थापा वडाध्यक्ष छन् । यसले गर्दा उनले पनि प्रदेश सरकारको कोभिड विशेष अनुदान २० हजार हात पारेका छन् ।

वडा नम्बर २ का वडा सदस्य शेरबहादुर विकले भाइ बुहारी पूजा विकलाई कोभिड अनुदान दिलाएका छन् । सोही वडाका वडाध्यक्ष उदय थापाले आफ्नै भाई गणेश थापालाई पशुपालनतर्फको अनुदान दिलाए पनि उनको घरमा व्यावसायिक पशुपालन गरिएको छैन ।

व्यावसायिक रूपमा कृषि गरेको भन्दै यसरी राजनीतिक पहुँचका आधारमा अनुदान लिनेमध्ये धेरैले व्यावसायिक कृषि नगरेको पाइएको छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्